global ime bank Long Banner Ad

गृहपृष्ठ विपद् व्यवस्थापनका लागि नीति भए पनि कार्यान्वयन पक्ष कमजोर : गगन थापा

विपद् व्यवस्थापनका लागि नीति भए पनि कार्यान्वयन पक्ष कमजोर : गगन थापा

विपद् व्यवस्थापनका लागि नीति भए पनि कार्यान्वयन पक्ष कमजोर : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् व्यवस्थापनका लागि नेपालमा पर्याप्त नीति तथा कानुनी व्यवस्था भए पनि कार्यान्वयन पक्षमा कमजोरी रहेको बताएका छन् ।

शुक्रबार ‘द ग्रिन टेबल’ नामक कार्यक्रममा ‘विपद् व्यवस्थापनः नीति निर्माणदेखि प्रभावकारी कार्यान्वयनसम्म’ विषयक छलफलपछि बोल्दै उनले विपद् व्यवस्थापनसम्बन्धी नीतिहरू राम्रो भए पनि तिनको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका हुन् ।

उनले भने, ‘विपद् व्यवस्थापनका लागि हामीसँग राम्रा नीतिहरू छन् । तर किन कार्यान्वयन भएन भन्ने विषयमा कार्यान्वयन गर्ने ठाउँमा रहेको राजनीतिक नेतृत्वको नियतमाथि शंका गरेको होइन, तर बुझाइको सन्दर्भमा कहीं न कहीं समस्या छ ।’

थापाले नेपाली कांग्रेसले भविष्यका जनप्रतिनिधिहरूलाई सक्षम नेतृत्व विकास गर्न ‘लिडरसिप एकेडेमी’ निर्माणको काम गरिरहेको जानकारी दिए । उनले उक्त एकेडेमीको पाठ्यक्रममा विपद् व्यवस्थापनसम्बन्धी अध्ययनलाई पनि समावेश गरिने बताए ।

उनले भने, ‘त्यसैले हामीले गर्न खोजेको लिडरसिप एकेडेमी अहिले बनाइरहेका छौं। त्यसको कोर्ष विकास गरिरहेका छौं। त्यसमा भविष्यमा पालिका प्रमुख बन्ने व्यक्तिका लागि तयार गरिने कोर्षमा विपद् व्यवस्थापनसम्बन्धी निश्चित क्रेडिट आवर पनि राखेका छौं। जसले गर्दा भोलि मेयर वा वडाध्यक्षको जिम्मेवारीमा पुग्ने व्यक्तिले विपद्को विषयमा राम्रो ज्ञान हासिल गर्न सकून्।’

कांग्रेसको सदस्य संख्या उल्लेख गर्दै उनले विपद् जोखिम न्यूनीकरण र जनचेतना अभिवृद्धिमा पार्टीले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए।

उनले भने, ‘करिब साढे ६ लाखदेखि ७ लाखसम्म हाम्रो दर्ता सदस्य हुनुहुन्छ । सबै प्रक्रिया सम्पन्न हुँदा यो संख्या ८ लाखदेखि ९ लाखसम्म पुग्न सक्छ । त्यो हिसाबले हेर्दा नेपाली कांग्रेस नेपालको सबैभन्दा ठूलो सामाजिक संगठन पनि हो। विपद्सम्बन्धी विषयमा सचेतना फैलाउने हो भने हामी एकैपटक ९ लाख मानिसलाई सचेत बनाउन सक्छौं।’

प्रकाशित समय : १९:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु