गृहपृष्ठ मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
नेपालगञ्ज । पूर्वखेलाडी समाज बाँकेको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रथम मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगितामा नेपालगञ्जका १४ वटा विद्यालयका ८२ जना छात्रछात्राको सहभागिता थियो । विभिन्न उमेर समूहका छात्रछात्राहरूबीच ‘फ्रिस्टाइल’, ‘ब्याकस्ट्रोक’, ‘ब्रेस्टस्ट्रोक’ र ‘बटरफ्लाई’ विधामा प्रतिस्पर्धा गरिएको थियो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै शिखा एकेडेमीका सुशान्त बोहरा उत्कृष्ट छात्र घोषित भएका छन् । उनले नगद रु पाँच हजार ५०० सहित सम्मान प्राप्त गरे । स्प्रिङ्डेल एकेडेमीकी नित्याश्री दहित उत्कृष्ट छात्रा घोषित भई नगद रु पाँच हजार ५०० सहित सम्मानित भइन् । विद्यालयगत समग्र अङ्कतर्फ शिखा एकेडेमी १२३ अङ्कका साथ प्रथम, सोफिया रेसिडेन्सियल स्कुल २२ अङ्कका साथ द्वितीय तथा स्प्रिङ्डेल एकेडेमी १४ अङ्कका साथ तृतीय स्थान हासिल गर्न सफल भएको छ ।
नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले पौडी खेल स्वास्थ्य, अनुशासन र जीवनरक्षासँग प्रत्यक्ष सम्बन्धित रहेको उल्लेख गर्दै विद्यालयस्तरबाट खेलकुद गतिविधिलाई प्राथमिकता दिनुपर्ने बताए । उनले यस्ता प्रतियोगिताले बालबालिकाको प्रतिभा पहिचान गर्न तथा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । आगामी दिनमा उपमहानगरले खेलकुद विकासका कार्यक्रमलाई निरन्तर सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
पूर्वखेलाडी समाजका अध्यक्ष प्रकाशबहादुर श्रेष्ठले समाजले पूर्वखेलाडीहरूको अनुभवलाई नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले प्रतियोगितामा विद्यालयको उत्साहजनक सहभागिता देखिएको भन्दै आगामी वर्षमा प्रतियोगितालाई अझ भव्य बनाइने प्रतिबद्धता जनाए ।
समाजका सल्लाहकार अजितकुमार शर्माले पौडी खेलको महत्वबारे चर्चा गर्दै बाँकेमा जलक्रीडाको सम्भावना उच्च रहेको बताए । उनले विद्यालयस्तरमा खेलाडी उत्पादन गर्न सके प्रदेश तथा राष्ट्रियस्तरमा बाँकेको प्रतिनिधित्व अझ सशक्त बन्ने धारणा व्यक्त गरे ।
खेलाडीगत रूपमा आध्यान भण्डारी (शिखा एकेडेमी) ले एक स्वर्ण, एक रजत र एक कास्य, सुमिंक वाग्ले (शिखा एकेडेमी) ले तीन स्वर्ण, एक रजत, काफिया चलाउने (शखा एकेडेमी) ले दुई स्वर्ण, अर्पित राना (शिखा एकेडेमी)ले दुई स्वर्ण, एक कास्य तथा सुशान्त बोहरा (शिखा एकेडेमी) ले चार स्वर्ण पदक प्राप्त गरेका छन् ।
युवान श्रेष्ठ (शिखा एकेडेमी) एक स्वर्ण, दुई रजत, एक कास्य, निर्देश बोहरा (शिखा एकेडेमी) एक स्वर्ण, दुई रजत, एक कास्य, प्रत्युष जोशी (जीवन ज्योती) ले दुई रजत र दुई कास्य पदक प्राप्त गरेका छन् । इभान्सु भट्टराई (शिखा एकेडेमी) ले दुई स्वर्ण र दुई कास्य, सम्यक गैरे (सोफिया रेसिडेन्सियल) ले दुई रजत र दुई कास्य पदक प्राप्त गरेका छन् ।
प्रकाशित समय : २०:५८ बजे



















