गृहपृष्ठ आजको राशिफल: २०८३ जेठ २४ गते आइतबार
आजको राशिफल: २०८३ जेठ २४ गते आइतबार
आज वि.सं. २०८३ जेठ २४ गते आइतबार, ई.सं. २०२६ जुन ७, नेपाल संवत् ११४६ अनलागा सप्तमी, अधिक ज्येष्ठ कृष्णपक्ष, अधिक जेठ कृष्ण सप्तमी। पञ्चाङ्गः वैधृति, विष्टि र भद्रा, धनिष्ठा नक्षत्र, ग्रीष्म ऋतु। चन्द्रमा कुम्भ राशिमा तथा सूर्य वृष राशिमा रहेका छन्। योगः वैधृति, करणः भद्रा। आज रविसप्तमी व्रत पनि परेको छ। नेपालमा आज सूर्योदय बिहान ५ः१० बजे र सूर्यास्त साँझ ६ः५४ बजे हुनेछ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशातर्फ यात्रा गरे पनि शुभ फल प्राप्त हुनेछ। कुनै महत्वपूर्ण कार्यको सुरुवात वा शुभ यात्राका लागि आज बिहान ५ बजेर ४२ मिनेटदेखि ८ बजेर ४७ मिनेटसम्मको समय शुभ मानिएको छ। यो समय नेपालको राष्ट्रिय समयअनुसार निर्धारण गरिएको हो।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दार्शनिक विषयप्रति झुकाव बढ्नेछ र स्वभावमा गम्भीरता आउनेछ। रहस्यात्मक विषय तथा गूढ विज्ञानमा रुचि जाग्ने समय छ। पूर्वअनुभव र सीपप्रति आशावादी बन्ने दिन भएकाले कर्मप्रति समर्पित हुनुपर्छ। आइपर्ने विघ्नबाधा र अवरोधप्रति पनि सचेत रहनु उचित हुनेछ। टाढा रहेका सन्तानबाट सुखद समाचार प्राप्त हुने तथा मनमा सन्तोष मिल्ने सम्भावना छ। आफूले सोचेका तथा योजना बनाएका काम सम्पन्न हुने समय रहेको छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कुनै समस्या छ भने अभिभावकसँग खुलस्त रूपमा राख्ने प्रयास गर्नुहोस्। घरबाहिर हुनुहुन्छ भने विश्वासिलो साथीलाई आफ्ना कुरा बताउनु उपयुक्त हुनेछ। प्रतिद्वन्द्वी वा विरोधी पक्षले हानि पुर्याउने योजना बनाउन सक्छन्। गोपनीयता भंग भएमा पनि समस्या आउन सक्छ। तथापि आफ्नो समझदारीले हरेक समस्याको समाधान गर्न सकिनेछ। व्यस्तताका बीच पनि परिवार र सन्तानका लागि केही समय छुट्याउनु राम्रो हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। एकअर्काका गुनासा सुन्ने र बुझ्ने अवसर मिल्नेछ। चुनौतीहरूलाई पन्छाउँदै परिस्थिति अनुकूल बनाउन सकिनेछ। इष्टमित्र तथा साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ। भाइबहिनीका इच्छा पूरा गर्न खर्च बढ्न सक्छ। सञ्चार, वित्तीय कारोबार, यातायात, ढुवानी तथा मार्केटिङ क्षेत्रका व्यक्तिहरूलाई विशेष लाभ हुने देखिन्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मानसिक सबलता र आन्तरिक क्षमतामा वृद्धि हुनेछ। घरपरिवारमा प्रभाव जमाउन सकिने भए पनि केही कुराले मन खिन्न बनाउन सक्छ। मेहनत र बुद्धिकौशलका कारण साथीभाइमाझ सम्मान प्राप्त हुनेछ। गुरुजनबाट प्रशंसा पाउन सकिनेछ। आर्थिक अवस्था बलियो रहने र विभिन्न स्रोतबाट आम्दानी बढ्ने सम्भावना छ। कार्यक्षेत्रमा पनि बोली र कामको कदर हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा प्रगति हुने समय छ। तर जिद्दीपन, अहंकार र एकोहोरोपनलाई नियन्त्रण गर्न आवश्यक छ। चिन्ता र शंका त्यागेर नयाँ ढंगले अघि बढ्ने प्रयास गर्नुहोस्। टुटेको सम्बन्ध पुनः जोडिन सक्छ। प्रतिद्वन्द्वीको योजना थाहा पाउँदा भविष्यको रणनीति बनाउन सहज हुनेछ। बुद्धिकौशल र कूटनीतिक क्षमताले महत्वपूर्ण काम सम्पन्न गराउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नकारात्मक सोच भएका व्यक्तिहरूसामु आफ्ना गोप्य कुरा नखोल्नु राम्रो हुन्छ। अन्यथा अनावश्यक हल्ला फैलन सक्छ। अवरोध तथा बाधा सिर्जना हुने र खर्च बढ्ने सम्भावना छ। जोखिमपूर्ण काममा संलग्न नहुनु नै बेस हुनेछ। आम्दानीमा उतारचढाव आउने दिन भएकाले कारोबारमा विशेष ध्यान दिनु उचित हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परीक्षा, प्रतियोगिता वा अन्तर्वार्तामा सफलता प्राप्त गर्न थप मेहनत आवश्यक हुनेछ। सहकर्मी वा साथीभाइको गतिविधिले चिन्ता बढाउन सक्छ। तथापि आफ्नो क्षमता र प्रतिभाअनुसार अवसर प्राप्त हुनेछ। उन्नतिको मार्गमा आएका बाधा हटाउँदै छुट्टै पहिचान बनाउन सफल भइनेछ। ढिलाइ भए पनि महत्वपूर्ण कार्य सम्पन्न हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कूटनीतिक क्षमताको प्रयोगले सम्मान र प्रशंसा प्राप्त हुनेछ। वाणी तथा कलात्मक प्रतिभाबाट आर्थिक लाभसमेत हुन सक्छ। सामाजिक तथा राजनीतिक प्रतिष्ठा बढाउन केही लगानी गर्नुपर्ने हुन सक्छ। सरकारी वा प्रशासनिक काम सम्पन्न गर्न अनुकूल समय छ। व्यवहारमा मर्यादा र कर्तव्यप्रति सचेत रहनु आवश्यक छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतिष्ठालाई जोखिममा राखेर कुनै काम नगर्नुहोस्। धन मात्र सबैथोक होइन भन्ने कुरा मनन गर्नु आवश्यक छ। धर्मकर्म तथा परोपकारी कार्यमा सक्रियता बढ्नेछ। समाजमा सम्मान प्राप्त भए पनि परिवारलाई पर्याप्त समय दिन नसक्दा असन्तुष्टि बढ्न सक्छ। निरन्तर मेहनत गर्ने र नयाँ कुरा सिक्न चाहने व्यक्तिहरूका लागि समय अनुकूल छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शारीरिक थकान र उत्साहमा कमी आउन सक्छ। तथापि आफूलाई सकारात्मक राख्ने प्रयास गर्नुपर्छ। आज आफन्तहरूलाई तपाईंको हौसला र दृढताको आवश्यकता पर्ने देखिन्छ। नियमविपरीत वा जोखिमपूर्ण कामबाट टाढा रहनु उचित हुनेछ। मनमा चिन्ता र निराशा बढ्न सक्ने भएकाले व्यवहारमा संयम अपनाउनु आवश्यक छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सरल र सकारात्मक व्यवहारबाट लाभ प्राप्त हुनेछ। मन उत्साहित र आशावादी बन्नेछ। महत्वपूर्ण निर्णय लिनुअघि धेरै अन्योलमा नपर्नुहोस्, किनकि आजका निर्णयले भविष्यका अवसरहरू खोल्न सक्छन्। स्वास्थ्य राम्रो रहनेछ। रमाइलोमा अलमलिए पनि काम र जिम्मेवारीलाई प्राथमिकता दिनु आवश्यक छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कानुनी तथा लगानीसम्बन्धी विषयमा जटिलता देखिन सक्छ। काम गर्ने शैली र व्यवस्थापन पक्षमा सुधार आवश्यक हुनेछ। मनमा रहेका चिन्ता र भ्रम सतहमा आउने समय हो। अनावश्यक चिन्ताले काम समयमा सम्पन्न गर्न कठिन हुन सक्छ। जिद्दीपन र अहंकार बढ्न सक्ने भएकाले जिम्मेवारीप्रति गम्भीर बन्नु आवश्यक छ। परीक्षा तथा प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त गर्न थप मेहनत गर्नुपर्ने देखिन्छ।
प्रकाशित समय : ०६:१९ बजे



















