गृहपृष्ठ चौथो सांग्रिला साइकल र्याली सफलतापूर्वक सम्पन्न
चौथो सांग्रिला साइकल र्याली सफलतापूर्वक सम्पन्न
विश्व वातावरण दिवसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको चौथो सांग्रिला साइकल र्याली भव्य रूपमा सम्पन्न भएको छ। जेठ २३ गते शनिबार काठमाडौंमा आयोजित र्यालीमा करिब १,५०० जनाको सहभागिता रहेको थियो।
काठमाडौं गैरीधारास्थित एलिस रिसेप्सनबाट सुरु भएको र्यालीले नारायणचौर, दरबारमार्ग, सुन्धारा, त्रिपुरेश्वर, माइतीघर मण्डल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जैनभवन, नक्साल भगवती, भाटभटेनी तथा बैंकको केन्द्रीय कार्यालय बालुवाटार हुँदै पुनः एलिस रिसेप्सन गैरीधारामा पुगेर समापन भएको थियो। सहभागीहरूले करिब १४ किलोमिटर दूरी तय गरेका थिए।
कार्यक्रममा सहभागीहरूलाई बैंककी सञ्चालक समिति सदस्य लिसा शेरचनले स्वागत गरेको थियो। साथै, लक्की ड्रमार्फत विजेता बन्नुभएकी अञ्जु पराजुलीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले साइकल हस्तान्तरण गरेको थियो। कार्यक्रममा लक्की ड्रमार्फत अन्य सहभागीहरूलाई पनि विभिन्न उपहार सामग्री वितरण गरिएको थियो।
वातावरण संरक्षण तथा साइकल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सांग्रिला डेभलपमेन्ट बैंकले २०७९ सालदेखि नियमित रूपमा साइकल र्याली आयोजना गर्दै आएको छ। बैंकले यस्ता कार्यक्रममार्फत दिगो वातावरण निर्माण र स्वस्थ जीवनशैली प्रवर्द्धनमा योगदान पुर्याउँदै आएको जनाएको छ।
आम नागरिकको विश्वास र भरोसाका साथ सांग्रिला डेभलपमेन्ट बैंकले हाल देशभर १०९ शाखा कार्यालय तथा ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई आत्मसात् गर्दै आएको बैंकले आगामी दिनमा आफ्ना सेवा तथा पहुँचलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रकाशित समय : ०५:४४ बजे



















