३५ वर्षदेखि फूलखेतीमा रमाउँदै ६३ वर्षीया सानु
वि.सं.२०८३ कात्तिक २३ सोमवार ०८:३३
shares

भक्तपुर । भक्तपुरमा कुनै समय तरकारी खेती गर्दै आएकाहरु अहिले सयपत्री र मखमली फूल खेतीलाई पनि आम्दानीको राम्रो स्रोत बनाइरहेका छन्।
उनीहरु घरायसी कामसँगै फूलखेतीमा व्यस्त रहँदै अर्थपार्जनमा संलग्न छन् । भक्तपुर गुण्डुकी ६३ वर्षीया सानु नगरकोटी तीमध्यकी एक हुन् । अहिले भक्तपुुरमा सानुमात्र होइन उनीजस्ता थुप्रै किसान परम्परागत रुपमा गर्दै आएको खेती प्रणालीलाई परिवर्तन गर्दै अर्थोपार्जनमा जुटेका छन् ।
करिब ३५ वर्षदेखि फूलखेती गर्दै आएकी उनी अहिले सयपत्री र मखमली फूलको खेतीबाट आम्दानी गरिरहेकी छन्। सानो क्षेत्रफलबाट सुरु गरेको फूलखेतीलाई विस्तार गर्दै लगेकी उनले अहिले आफ्नै बारीसँगै अरूको जग्गा भाडामा लिएर समेत फूल रोप्दै आएकी छन्।
सानुले सुरुमा दुई–चार ड्याङ फूल रोपेर खेती सुरु गरेकी थिइन्। पहिलो वर्षमै ७–८ सय रुपैयाँ आम्दानी भएपछि उनलाई फूलखेतीप्रति उत्साह बढ्यो। त्यसपछि अर्को वर्ष थप फूल रोपिन्। दोस्रो वर्षमा चारपाँच हजार रुपैयाँ आम्दानी भएपछि उनले यसलाई व्यावसायिक रूपमा अगाडि बढाउने सोच बनाइन्।
सानुका अनुसार अहिले फूलखेतीबाट वार्षिक ७० देखि ८० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ । आफ्नै बारीमा फूल रोप्नुका साथै अरूको जग्गा भाडामा लिएर पनि खेती विस्तार गरेकी छन्।
तर यस वर्ष अत्यधिक वर्षाका कारण फूलखेती प्रभावित भएको छ । धेरै पानी पर्दा फूलका बिरुवाको जरा मर्ने र समयमै फूल नफुल्ने समस्या देखिएको उनले बताइन्। भदौको पहिलो सातादेखि मात्रै फूल फुल्न थालेपछि यस वर्ष उत्पादनमा कमी आएको उनको भनाइ छ।
‘यसपाली धेरै पानी आयो, त्यसैले फूल चाँडै आएन । धेरै पानीले जरा म¥यो। औषधि राखेपछि बल्ल भदौको पहिलो हप्तादेखि अलिअलि फूल आउन थाल्यो,’ उनले भनिन्।
फूलखेतीमा आम्दानी भए पनि खर्च र श्रम उत्तिकै लाग्ने गरेको सानुको अनुभव छ । मल, औषधि र कामदारको ज्यालामा धेरै खर्च हुने गरेको उनले बताइन् । एउटा खेतमा औषधि छर्न मात्रै पाँच सय रुपैयाँसम्म तिर्नुपर्ने र कामदारको खाजा खर्चसमेत जोड्दा लागत बढ्ने गरेको उनको भनाइ छ ।
यद्यपि, फूलखेतीले विशेषगरी घरमै बसेर आम्दानी गर्न चाहने महिलालाई राम्रो अवसर दिएको उनी बताउँछिन्। यसअघि सागसब्जी खेती गर्दै आएकी उनले त्यसबाट अपेक्षित आम्दानी नभएपछि फूलखेतीतर्फ आकर्षित भएकी हुन्।
‘पहिला हामी साग बेच्थ्यौँ। रायो, तोरीको साग, चम्सुर र पालुङ्गो लगाउँथ्यौँ। पछि दुई ड्याङ फूल लगाएपछि धेरै फसल भयो । बेच्न लैजाँदा पनि राम्रोसँग विक्री भयो र खुशी लाग्यो। सागभन्दा फूल बोक्न पनि सजिलो र पैसा पनि अलि राम्रो आउन थाल्यो,’ उनले आफ्नो अनुभव सुनाइन्।
सानुका अनुसार साउनमा सयपत्री फूलको मूल्य प्रतिकिलो २० देखि ३० रुपैयाँसम्म थियो। तर भदौसम्म आइपुग्दा मूल्य घटेको थियो। तिहार नजिकिँदै गर्दा फूलको माग र मूल्य बढ्ने अपेक्षामा उनी छिन्।
अघिल्लो वर्षको तुलनामा यस वर्ष फूलमालाको मूल्य पनि कम रहेको उनले बताइन्। गत वर्ष प्रतिमाला ५० रुपैयाँसम्म बिक्री भएकोमा यस वर्ष ३० देखि ४० रुपैयाँसम्ममा बिक्री गर्नुपरेको उनको भनाइ छ।
नेपाली फूलको बजारमा भारतीय फूल तथा मालाका कारण प्रतिस्पर्धा गर्न कठिन भइरहेको उनको अनुभव छ। भारतीय माला आकार र बनोटमा एकनासको हुने भएकाले उपभोक्ताले त्यसलाई बढी रुचाउने गरेको उनी बताउँछिन्।
‘इन्डियन माला एकनासको हुन्छ, मान्छेले त्यही रुचाउँछन्। हाम्रोमा ठूला–साना फूल हुने भएकाले माला बनाउँदा पनि एकनासको हुँदैन। त्यसले गर्दा अलि गाह्रो भएको छ,’ उनले भनिन्।
तर नेपाली फूल विदेशमा समेत पुग्ने गरेको सुन्दा आफूलाई खुशी लाग्ने गरेको सानु बताउँछिन्। भारत, अस्ट्रेलियालगायत नेपाली समुदाय रहेका विभिन्न देशमा नेपाली फूल जाने गरेको उनले सुनेकी छन्।
फूलखेतीसँगै सानुले अर्गानिक मलको बिक्रीसमेत गर्दै आएकी छन्। मल बिक्रीबाट पनि आम्दानी हुने गरेको र किसानहरूले प्रयोग गरेर राम्रो परिणाम पाएको सुनाउने गरेको उनले बताइन्।
६३ वर्षको उमेरमा पनि खेतीपाती र व्यवसायमा सक्रिय सानु किसानहरूको मेहनतको उचित मूल्य पाउनुपर्ने बताउँछिन्। किसानले उत्पादन गरेको फूल तथा कृषि उपजको बजार सुनिश्चित भए खेतीमा थप आकर्षण बढ्ने उनको अपेक्षा छ।

























