गृहपृष्ठ भारत–नेपाल सम्बन्ध सुदृढ बनाउन सहकार्य गर्ने सहमति
भारत–नेपाल सम्बन्ध सुदृढ बनाउन सहकार्य गर्ने सहमति
काठमाडौं। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतका गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका छन्।
नयाँ दिल्लीमा मंगलबार भएको भेटमा गृहमन्त्री शाहले लामिछानेलाई रास्वपाको निर्वाचन सफलताप्रति बधाई दिँदै नेपालको नयाँ सरकारको सफलताका लागि भारतको शुभकामना व्यक्त गरेका छन्।
भारतीय गृहमन्त्रीको कार्यालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जारी गरेको जानकारीअनुसार भेटमा भारत–नेपालबीचको विशेष सम्बन्धलाई थप सुदृढ बनाउन दुवै पक्षले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
त्यसैगरी, विदेशमन्त्री एस. जयशंकरसँगको भेटमा लामिछानेले नेपाल–भारत सम्बन्ध, विकास साझेदारी तथा दुई देशबीचका बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा रचनात्मक छलफल भएको बताएका छन्।
विदेशमन्त्री जयशंकरले पनि लामिछाने र उनको प्रतिनिधिमण्डलसँगको भेटलाई सुखद बताउँदै भारत–नेपाल विकास साझेदारी र जनस्तरको सम्बन्धबारे केन्द्रित छलफल भएको जानकारी दिएका छन्। उनले यी सम्बन्धले दुवै देशको विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन्।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले लामिछानेको भारत भ्रमणलाई दुई देशका राजनीतिक दलहरूबीच हुने नियमित सम्पर्कको निरन्तरताका रूपमा व्याख्या गरेका छन्। उनले भारत–नेपालबीच सरकार–सरकार, जनता–जनता तथा सांस्कृतिक तहमा बहुआयामिक सम्बन्ध रहेको उल्लेख गर्दै यस्ता भेटघाटले द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन मद्दत गर्ने बताएका छन्।
प्रकाशित समय : ०८:५३ बजे


















