गृहपृष्ठ इरान सम्झौता घोषणा सम्भावना
इरान सम्झौता घोषणा सम्भावना
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यपूर्वमा जारी युद्ध औपचारिक रूपमा अन्त्य गर्न सक्ने इरानसँगको सम्भावित सम्झौता आइतबारपछि सार्वजनिक हुन सक्ने बताएको छ ।
नयाँदिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले आगामी केही घण्टाभित्रै विश्वले सकारात्मक समाचार पाउन सक्ने सम्भावना रहेको उल्लेख गरे । आफ्नो पहिलो भारत भ्रमणमा रहेका रुबियोले उदीयमान सम्झौताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ हर्मुजसम्बन्धी चिन्तालाई सम्बोधन गर्ने बताए । स्ट्रेट अफ हर्मुज इरान–अमेरिका–इजरायल तनावपछि केही हदसम्म अवरुद्ध भएको अवस्थामा छ ।
उनका अनुसार प्रस्तावित सम्झौताले यस्तो प्रक्रिया सुरु गर्न सक्छ जसले अन्ततः इरानको आणविक हतियारसम्बन्धी डर हटाउने अवस्थातर्फ लैजान सक्नेछ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी खोल्ने विषयमा भइरहेको छलफललाई ‘धेरै हदसम्म अघि बढेको’ बताएको छ । सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका, इरान र अन्य देशहरूबीच अन्तिम सम्झौता तयार पार्ने प्रक्रिया नजिक पुगेको दाबी गरेको हो ।
उदीयमान सम्झौताले अमेरिकाभित्रै पनि राजनीतिक बहस सिर्जना गरेको छ । सिनेटर टेड क्रुज र पूर्वविदेशमन्त्री माइक पोम्पेओजस्ता ट्रम्पका निकट सहयोगीहरूले सम्भावित सहमतिबारे आलोचना गर्दै इरानलाई आर्थिक र रणनीतिक लाभ पुग्ने सम्भावनाप्रति आपत्ति जनाएको छ । उनीहरू दुवै इजरायलका कट्टर समर्थक मानिनुहुन्छ ।
क्रुजले यस्तो सम्भावित परिणामलाई ‘विनाशकारी गल्ती’ हुन सक्ने चेतावनी दिए ।
आलोचनाबारे प्रतिक्रिया दिँदै रुबियोले इरानविरुद्ध सुरु गरिएको ‘एपिक फ्युरी’ नामक अभियानको उद्देश्य स्पष्ट रहेको बताए । उनका अनुसार यस अभियानअन्तर्गत इरानको नौसेना क्षमतामा ठूलो क्षति पुर्याइएको छ ।
उनले अमेरिकाले इरानको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार क्षमतालाई उल्लेखनीय रूपमा कमजोर बनाउने र देशको रक्षा–औद्योगिक संरचनामा क्षति पुर्याउने लक्ष्य राखेको पनि उल्लेख गरे ।
रुबियोका शब्दमा, ‘एपिक फ्युरी’ अभियानका सबै प्रमुख उद्देश्यहरू पूरा भइसकेका छन् ।
प्रकाशित समय : १६:२९ बजे



















