global ime bank Long Banner Ad

गृहपृष्ठ रुबियोको दिल्ली भ्रमण

रुबियोको दिल्ली भ्रमण

रुबियोको दिल्ली भ्रमण India United States Rubio

नयाँदिल्ली । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार भारतीय समकक्षी सुब्रमण्यम जयशङ्करसँग उच्चस्तरीय वार्ता गरेको छ । वार्ताको उद्देश्य वासिङ्टन र नयाँदिल्लीबीच पछिल्ला वर्षहरूमा कमजोर हुँदै गएको विश्वासलाई पुनःस्थापित गर्ने प्रयास गर्नु रहेको छ ।

अमेरिका र भारतबीच सम्बन्ध हाल करिब दुई दशकयताकै सबैभन्दा तल्लो स्तरमा पुगेको मानिन्छ र यसलाई मुख्य रूपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीति तथा भारतीय निर्यातमाथि बढाइएको शुल्कले थप जटिल बनाएको छ ।

रुबियो क्वाड भनेर चिनिने इन्डो–प्यासिफिक सुरक्षा संरचनामा सहभागी भारत, अस्ट्रेलिया र जापानका विदेशमन्त्रीहरूसँग मङ्गलबार हुने बैठकअघि पहिलो औपचारिक भारत भ्रमणका लागि शनिबार नयाँदिल्ली आइपुगेको हो ।

नयाँदिल्लीमा रुबियोले भारतलाई संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिक दृष्टिकोणको ‘आधारशिला’ भएको उल्लेख गर्दै द्विपक्षीय सम्बन्ध मात्र नभई बहुपक्षीय सहकार्यमा पनि यसको महत्त्व रहेको बताए ।

उनको चार दिने भ्रमणमा भारतमा भव्य स्वागत तथा अमेरिका स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवसँग जोडिएका विभिन्न कूटनीतिक कार्यक्रमहरू समावेश छन् ।

भारतका पूर्व विदेश नीति सल्लाहकार अशोक मलिकले पछिल्लो समय व्यापार, सुरक्षा र कूटनीतिक विषयमा वासिङ्टनबाट आएका बयानबाजीले सम्बन्धमा असहजता र विश्वासको कमी सिर्जना गरेको टिप्पणी गरे। उनका अनुसार यदि यस भ्रमणले सम्बन्धलाई थप बिग्रन नदिई स्थिर बनाउन सकेमा मात्र यसलाई सफल मान्न सकिन्छ ।

विशेषज्ञहरूका अनुसार अमेरिका र भारतबीच संरचनात्मक रूपमा फरक प्राथमिकता र रणनीतिक दृष्टिकोण भए पनि साझा सुरक्षा चिन्ताले उनीहरूलाई नजिक ल्याएको छ ।

भारत परम्परागत रूपमा रूससँग नजिक रहे पनि पछिल्ला वर्षहरूमा अमेरिकासँग नजिकिँदै गएको देखिएको छ तर ऐतिहासिक अविश्वास र सांस्कृतिक भिन्नताले यो सम्बन्धमा निरन्तर असर पार्दै आएको छ ।

इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो सैन्य र आर्थिक प्रभावका कारण क्वाड फोरममार्फत भारत, अमेरिका, अस्ट्रेलिया र जापानबीच सहकार्य विस्तार हुँदै आएको छ ।

यी देशहरूले दक्षिण चीन सागरमा चीनको गतिविधिप्रति बारम्बार आलोचना गर्दै आएका छन् भने बेइजिङले भने आफ्नो गतिविधि रक्षात्मक भएको दाबी गर्दै आएको छ ।

जनवरी २०२५ मा अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेपछि रुबियोको पहिलो अन्तर्राष्ट्रिय संलग्नता पनि क्वाड बैठक नै थियो । यसले यस क्षेत्रप्रति वासिङ्टनको प्राथमिकता झल्काउँछ ।

तर पछिल्ला महिनाहरूमा विभिन्न कूटनीतिक घटनाक्रमले भारत–अमेरिका सम्बन्धमा तनाव थपिएको विश्लेषण गरिएको छ । विशेषगरी भारत–पाकिस्तान तनावमा अमेरिकी भूमिकाबारे असन्तुष्टि, रूसबाट तेल खरिदका विषयमा वासिङ्टनको आलोचना तथा व्यापार नीतिका कारण सम्बन्धमा चिसोपन बढेको बताइन्छ ।

विशेषज्ञहरूका अनुसार भारतले अमेरिकाको नीतिगत अस्थिरताप्रति केही आशङ्का राखे पनि दीर्घकालीन रणनीतिक सहकार्यलाई पूर्ण रूपमा तोड्ने पक्षमा छैन । उनीहरूका अनुसार भारतले अहिले ‘रणनीतिक धैर्य’ अपनाउँदै आगामी अमेरिकी राजनीतिक परिवर्तनपछि सम्बन्ध पुनः सन्तुलनमा आउने अपेक्षा राखिरहेको छ ।

प्रकाशित समय : १६:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु