गृहपृष्ठ एचसिए सुवर्णशमशेर स्मृति क्रिकेट लिग प्रतियोगिता : हिमालयन, पल्सर सिइसी र डिएभीले जिते खेल
एचसिए सुवर्णशमशेर स्मृति क्रिकेट लिग प्रतियोगिता : हिमालयन, पल्सर सिइसी र डिएभीले जिते खेल
काठमाडौँ। कीर्तिपुरमा सम्पन्न १३ वर्षमुनिको प्रथम एचसिए सुवर्णशमशेर स्मृति क्रिकेट लिग प्रतियोगिताअन्तर्गत आजका खेलमा हिमालयन क्रिकेट एकेडेमी, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र काठमाडौँ क्रिकेट एकेडेमीले जितेका छन् ।
आइरिस इभेन्ट प्रालिको आयोजनामा विश्वविद्यालयको लेबोरेटरी मावि चौरमा सम्पन्न उक्त प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा हिमालयन क्रिकेट एकेडेमीले बूढानीलकण्ठ क्रिकेट एक्सिलेन्स सेन्टरलाई नौ विकेटले हरायो । विजयमा इशान अलीको तीन विकेटको महत्वपूर्ण योगदान रह्यो ।
दोस्रो खेलमा पल्सर क्रिकेट एक्सिलेन्स सेन्टरले क्रिकेट एक्सिलेन्स भक्तपुरलाई १२३ रनले हरायो । सेन्टरको जितमा समर यादवको ११७ र मिङ्मार सोनाम शेर्पाको ५५ रन मुख्य योगदान रह्यो ।
यसैगरी, तेस्रो खेलमा काठमाडौँ क्रिकेट एकेडेमीले एन्जल्स क्रिकेट एकेडेमीलालाई नौ विकेटले हरायो ।
काठमाडौं उपत्यकाका विभिन्न क्रिकेट एकेडेमी र विद्यालय गरी १६ टोली रहेको यो प्रतियोगिता १० दिन चल्नेछ । प्रतियोगितामा जित्ने टोलीले रु एक लाख, उपविजेताले ५० हजार पाउनेछन् ।
आयोजक हिमालय क्रिकेट एकेडेमीका अध्यक्ष जीवन शाहीका अनुसार कलिला बालबालिकाबीच क्रिकेट संस्कृति स्थापित गराउन र प्रतिभा प्रस्फुटन गराउन यो प्रतियोगिता महत्वपूर्ण हुनेछ ।
आइरिस इभेन्ट अध्यक्षका जीवन चन्दले सुवर्ण शमशेरको नाममा आयोजित यस प्रतियोगितामा उत्साहजनक सहभागिता भए पनि स्रोतसाधनको समस्या ब्यहोर्नु परिरहेको बताए। रासस
प्रकाशित समय : २०:३६ बजे


















