काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पातिखोला गुफाको संरक्षण गर्न पूर्वाधार निर्माण गरिँदै

2.46K
shares

कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा पर्ने पौराणिक तथा ऐतिहासिक पातिखोला (गुप्तकालिका) गुफाको संरक्षण र पूर्वाधार निर्माणका लागि पहल सुरु भएको छ ।

माछापुच्छ्रे गाउँपालिका–४ र ५ को सिमानामा समुद्री सतहबाट एक हजार १०० मिटर उचाइमा रहेको यस गुफा संरक्षणका लागि संरक्षण समिति गठन गरेर काम अघि बढाइएको हो । गुफा ५५ मिटर लामो रहेको छ । पातिखोला गुफा संरक्षण समितिका सचिव रुद्रनाथ अधिकारीले ऐतिहासिक दृष्टिकोणमा यो गुफाको महत्त्व रहे पनि प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको बताए ।

उनका अनुसार गुफाबारे विभिन्न किंवदन्ती पाइन्छ । देवी भगवतीले भैरवलाई संरक्षण गरेर राखेको किंवदन्ती अनुसार हाल गुफा परिसरमा देवी र भैरवको मूर्ति राखेर पूजाआजा हुँदै आएको छ । अधिकारीका अनुसार पौराणिक रूपमा गुफामा देवीले तपस्या गरेको किंवदन्ती छ । सो स्थानमा देवी र भैरवबिच लामो समय द्वन्द्व चलिरहँदा देवी अचानक सो पातीखोला गुफामा तपस्या गर्न जाँदा भैरव देवीको पिछा गर्दै जाने क्रममा देवी भक्त हनुमान सो गुफाको द्वारपाल भएर बसेका बेला हनुमान र भैरवबिच लडाइँ भएपछि देवी गुफाबाट निस्केर भैरवको शीर छेदन गरेको र पछि भैरवले आफूले गल्ती गरेको भन्दै माफी मागेर आफूलाई देवीसँगै राख्न अनुनय विनय गरेपछि देवीले भैरवलाई संरक्षण गरेको किंवदन्ती पाइन्छ ।

“जसअनुसार नै स्थानीयले गुफा परिसरमा देवी र भैरवको मूर्ति राखेर हालसम्म पूजा गर्दै आएका छन् ।” सचिव अधिकारीले भने । ऐतिहासिक तथा सांस्कृतिक इतिहास बोकेको पातिखोला गुफाको प्रचारप्रसारसँगै धार्मिक क्षेत्र पूर्वाधार विकासमा लागि रु पाँच करोडको गुरुयोजना बनाइएको पातिखोला गुफा संरक्षण समितिका अध्यक्ष डम्बरसिंह गुरुङले जानकारी दिए ।

उनका अनुसार गण्डकी प्रदेश सरकारको ४० लाख लागतमा गुफा परिसरको भिरालो जमिन सम्याउने र वरपर पर्खाल लगाउने काम सकिएको छ । अन्य बाँकी कामका लागि बजेट अभाव भएकाले आगामी वैशाख १७ देखि २४ गतेसम्म जोगिचौर मणि परिसरमा महायज्ञ गर्न लागिएको उनले जानकारी दिए ।

अध्यक्ष गुरुङले भने, “विगतमा यस ठाउँमा वर्षमा तीन पटक मेला लाग्ने गर्थ्यो । हाल यो मेलाले निरन्तरता पाएको छैन । यस ठाउँमा पूर्वाधार विकास गरी व्यवस्थित बनाई मेलालाई पुनः निरन्तरता दिने र स्थानको ऐतिहासिकता र धार्मिक महत्वलाई अझ राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेका छौँ।”

पातिखोलमा विगतमा माघे सङ्क्रान्ति, श्री पञ्चमी र चैते दसैँमा गरी वर्षको तीन पटक कृषि व्यापारी, स्थानीय उत्पादनको बिक्री, विभिन्न परिकारका मिष्टान्न भोजनसहितको महोत्सव हुने गरेको स्थानीयको भनाइ छ । महायज्ञबाट करिब रु दुई करोड आर्थिक सङ्कलन गर्ने लक्ष्य लिएको र उक्त महायज्ञमा पण्डित दीपकप्रसाद पौडेलको प्रवचन गर्ने प्रचारप्रसार उपसमिति संयोजक यामबहादुर गुरुङले जानकारी दिए ।

माछापुच्छ्रे–४ का वडाध्यक्ष मधुसूदन अधिकारीले ऐतिहासिक तथा धार्मिक रूपमा परिचित यस स्थानमा हुन लागेको महायज्ञलाई सफल बनाउनका लागि तयारीलाई तीव्र पारिएको बताए । पोखराको टुँडिखेल बगरबाट १० किलोमिटर उत्तर पश्चिमतर्फ करिब आधा घण्टाको यात्रामा पातिखोला गुफा पुग्न सकिन्छ ।