गृहपृष्ठ कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
धुलिखेल । काभ्रेपलान्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ र ५ मा भइरहेको कफी खेतीको गण्डकी प्रदेशअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिकाका कृषकहरूले अवलोकन गरेका छन् ।
अन्नपूर्ण गाउँपालिका–१ भूगाईथरस्थित माछापुच्छ्रे उत्तम कफी उत्पादक सहकारी संस्था लिमिटेडका अगुवा कृषकको नेतृत्व गर्दै गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीको टोलीले महाभारत गाउँपालिकामा भइरहेको कफी खेतीको अवलोकन गरेको हो । कफी खेतीको अवलोकन भ्रमणमा सहभागी कास्की जिल्लाका जिल्ला कफी उत्पादक सहकारी सङ्घका अध्यक्ष आनन्द सुवेदीले महाभारत गाउँपालिकाले सुरु गरेको कफी खेती किसानको हितमा रहेकाले यसलाई मध्यनजर गर्दै सरकारले यसको अनुसरण गरेर नेपालका मध्य पहाडी क्षेत्रका जिल्लाहरूमा विस्तार गर्नुपर्ने बताए ।
सो अवसरमा कृषकहरूसँग भेटघाटपछि महाभारत गाउँपालिकाले कफी खेतीलाई धेरै महत्वका साथ अगाडि बढाएको पाएको कास्कीका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष केसीले बताए । ‘यहाँका कफी खेतीको अवस्था हेरेपछि गाउँमा बाँझो छोडिएका जमिनमा मात्रै कफी खेती गर्न सकेको खण्डमा विदेश जानु नपर्ने अवस्था बनाउन सकिने रहेछ”, उनले भने, “अरूलाई गाली र आलोचना गर्नुको साटो मेहनतमा रमाउन सकेको खण्डमा एउटा मान्छेले कतिसम्म गर्न सकिँदो रहेछ भन्ने कुरा महाभारतको किसानबाट शिक्षा पाएँ ।”
महाभारत–१ का कफी उत्पादक कृषकहरूले महाभारतको कफी उत्पादनको विषयमा सञ्चारमाध्यममा धेरै आएको पाएपछि अवलोकन भ्रमण गर्न सो ठाउँलाई रोजेको बताएका छन् । महाभारत साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हस्तबहादुर दर्लामीले महाभारत गाउँपालिकामा भइरहेको कफी खेतीको विषयमा चासोका साथ देशका विभिन्न ठाउँका कृषकले अवलोकन भ्रमण कृषकका लागि खुसीको विषय भएको बताए । गाउँपालिकाले अगाडि सारेको ‘जसले रोप्छ कफीको बोट, उसले पाउँको रु बीसको नोट’ अभियान र पालिका सरकारको दृष्टिकोणअनुसार प्रदेश सरकारसँगको सहकार्यमा ‘एक वडा एक उत्पादन’ अन्तर्गत कफी खेती अभियानले महाभारतलाई थप उचाइमा पुर्याएको महसुस भएको उनले बताए ।
महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले किसानको आर्थिक उत्पादनको अवस्थालाई ध्यानमा राख्दै पालिकाले उत्पादनमा आम्दानीको रूपमा कफीलाई बनाउने उद्देश्यसहित पर्यटकलाई महाभारतमा कफी हेर्न आउने बनाउने लक्ष्यका साथ योजनाबद्ध रूपमा अगाडि सारेको बताउनुभयो । कफीको बजारलाई हेरेर समृद्धिमा उत्पादनलाई कसरी जोड्ने भन्ने राष्ट्रिय नीतिअनुसार नै किसानको उत्पादनलाई जोड दिएर काम अगाडि बढाइरहेको उहाँले बताउनुभयो । त्यससँगै उहाँले चिया खेती हेर्न इलाम गए जस्तै कफी खेतीको उत्पादन हेर्न महाभारत जाउँ भन्ने नारालाई स्थापित गर्ने गरी काम भइरहेको छ ।
करिब ६० कृषकहरूको अवलोकन भ्रमण टोलीले महाभारत–५ को खोलाघारी, भर्लेनी, मुखियटोल, खेतडाँडा, बार्तली र वडा नं ४ को लामीडाँडा लगायतका ठाउँमा ‘एक वडा एक उत्पादन’ कार्यक्रम गाउँपालिकाको ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु बीसको नोट’ अभियान अन्तर्गत कफी नर्सरी, इजराइली प्रविधिबाट मल्चिङ र थोपा सिँचाइ प्रविधिको कफी खेती, छहा री विधि र पोखरी सिँचाइलगायत खेतीका कार्यक्रमको अवलोकन गरेका थिए । अहिलेसम्ममा गाउँपालिकाको तीन हजार २०० भन्दा बढी रोपनी क्षेत्रफलमा व्यावसायिक कफी खेती विस्तार गरेको छ ।
विसं २०७८ बाट यहाँका कफी खेती गर्ने किसान, कृषि सहकारी र समूहलाई गरी तीन लाख ३१ हजारभन्दा बढी बिरुवा वितरण गरिसकेको छ भने यसवर्ष एक लाख कफीको बोट वितरणका लागि आवश्यक बिरुवा उत्पादन गरिसकेको छ । किसानको उत्साहलाई साथ दिनका लागि पालिकाले अनुदानमा कफीको बोट वितरण, आवश्यक उपकरण वितरण गर्नुका साथै प्रशोधन गर्ने उपकरणहरू वितरणलाई जोड दिँदै आएको छ । उत्पादन र गुणस्तर राम्रो भएको महाभारत गाउँपालिकामा कफीको बजारीकरणसमेत राम्रो भएको तथा यस वर्ष मात्रै ८० टनभन्दा बढी कफी उत्पादन र निर्यात भएको गाउँपालिकाले जनाएको छ ।
प्रकाशित समय : ०६:१२ बजे



















