नेपाल माइक्रो इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन २५.६६ प्रतिशतले बढ्यो
वि.सं.२०८३ कात्तिक ३० सोमवार १०:१०
shares

काठमाडौं– नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आफ्नो मुख्य व्यावसायिक कारोबारमा उत्साहजनक वृद्धि हासिल गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन अघिल्लो वर्षको तुलनामा २५.६६ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ६२ लाख ५९ हजार रुपैयाँ रहेको खुद बीमाशुल्क आर्जन चालु आवको सोही अवधिमा बढेर ३ करोड २९ लाख ९८ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीको कुल बीमाशुल्क आर्जन पनि १९.७० प्रतिशतले वृद्धि भई ६ करोड ८२ लाख ९९ हजार रुपैयाँबाट ८ करोड १७ लाख ५५ हजार रुपैयाँ कायम भएको छ ।
कम्पनीको व्यावसायिक स्थायित्वको अर्को बलियो सकारात्मक पक्ष बीमालेख नवीकरणमा देखिएको उल्लेख्य वृद्धि हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा ४९३ वटा बीमालेख नवीकरण भएकोमा चालु आवको सोही अवधिमा ११०.५४ प्रतिशतले बढेर १ हजार ३८ वटा बीमालेख नवीकरण भएका छन् ।
कम्पनीले व्यवसाय विस्तारसँगै अनावश्यक सञ्चालन खर्चमा नियन्त्रण गरेको देखिएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा १ करोड ३४ लाख ६९ हजार रुपैयाँ रहेको अन्य सञ्चालन खर्चलाई कम्पनीले ३२ प्रतिशतले घटाएर ९१ लाख ६४ हजार रुपैयाँमा झारेको छ ।
७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको विशेष जगेडा १२.१७ प्रतिशतले बढेर २ करोड ६६ लाख ८३ हजार रुपैयाँ, महाविपत्ति कोष २६ लाख ६८ हजार रुपैयाँ र रिटेन्ड अर्निङ २ करोड ३२ लाख ५१ हजार रुपैयाँ सञ्चित छ ।
कम्पनीको कुल लगानी ६८ करोड २७ लाख ५९ हजार रुपैयाँ रहेको छ भने तरलता अनुपात १३८ प्रतिशत र सोल्भेन्सी मार्जिन अनुपात २.०३ कायम छ, जसले कम्पनीको वित्तीय आधार निकै सबल रहेको पुष्टि गर्छ ।

























