काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

693
shares

चितवन । जिल्लामा यस वर्षको दसैँ–तिहार अवधिमा सडक दुर्घटना तथा मानवीय क्षतिमा कमी आएको छ भने ट्राफिक कारबाही र राजस्व सङ्कलनमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सडक दुर्घटना घटेका छन् भने ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथिको कारबाही र जरिवाना सङ्कलन बढेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा घटस्थापनादेखि कात्तिक २४ गतेसम्म ६६ वटा सडक दुर्घटना भएका थिए । ती दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो भने ११७ जना घाइते भएका थिए ।

त्यस्तै, चालु आर्थिक वर्ष २०८३/८४ मा असोज २५ देखि कात्तिक २६ गतेसम्म ३४ वटा सडक दुर्घटना भएका छन् । ती दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन् ।

कार्यालयका अनुसार सडक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि गरिएको ट्राफिक कारबाही तथा जरिवाना सङ्कलनमा भने उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षमा एक हजार ३५ वटा सवारीसाधन कारबाहीमा परेका थिए । त्यसबाट नौ लाख २४ हजार ५३१ जरिवाना सङ्कलन भएको थियो ।

चालु आर्थिक वर्षमा कारबाहीमा पर्ने सवारीसाधनको सङ्ख्या बढेर एक हजार ८६१ पुगेको छ । यसबाट १७ लाख ७२ हजार ५०० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथिको कारबाही भने यस वर्ष घटेको छ । गत आर्थिक वर्षमा ६९ वटा मापसे कारबाहीबाट ३७ हजार राजस्व सङ्कलन भएको थियो । चालु आर्थिक वर्षमा ५६ वटा कारबाहीबाट ३० हजार सङ्कलन भएको छ ।

त्यस्तै, लागू पदार्थ सेवन गरी सवारी चलाउनेमाथि गत आर्थिक वर्षमा कुनै कारबाही नभएकामा यस वर्ष २४ वटा कारबाही भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख थापाले अनुसार चाडपर्वलाई लक्षित गरी गरिएको कडा ट्राफिक चेकजाँच, नियम उल्लङ्घन गर्नेमाथिको कारबाही तथा जनचेतनामूलक कार्यक्रमका कारण सडक दुर्घटना र मानवीय क्षतिमा कमी आएको बताए ।

उनले चाडपर्वको समयमा मात्र नभई अन्य समयमा पनि सवारी नियमको पालना गर्न, तीव्र गतिमा सवारी नचलाउन र मादक पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गरे। सुरक्षित यात्रालाई प्राथमिकता दिन पनि उनले चालक तथा यात्रुलाई अनुरोध गरे ।