nmb bank

गृहपृष्ठ नारायणी नदीमा पर्यटन काव्य उत्सव

नारायणी नदीमा पर्यटन काव्य उत्सव

नारायणी नदीमा पर्यटन काव्य उत्सव

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा दुई दिनसम्म चलेको ‘राष्ट्रिय पर्यटन काव्य उत्सव–२०८२’ सम्पन्न भएको छ । गैँडाकोट नगरपालिका र गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा नारायणी नदीस्थित राइनो क्रुजमा भएको यस कार्यक्रमले साहित्य, पर्यटन र संस्कृतिलाई एकै मञ्चमा ल्याउँदै स्थानीय पहिचानलाई राष्ट्रियस्तरमा उजागर गरेको छ ।

उत्सवमा करिब सयभन्दा बढी स्रष्टाले कविता, गजल, गीत एवं कार्यपत्र प्रस्तुत गर्दै पर्यटन र साहित्यबीचको सम्बन्धलाई प्रष्ट्याउने प्रयास गरेका थिए । कार्यक्रमको उद्घाटन सत्रमा नगरप्रमुख मदनभक्त अधिकारीले बहुभाषिक र बहुसांस्कृतिक समाजमा संरक्षण र प्रवर्द्धनलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । उपप्रमुख शान्ति कोइरालाले नदीमाथि गरिएको कार्यक्रमलाई नयाँ अभ्यासको रुपमा व्याख्या गरे ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले साहित्य र पर्यटनलाई जोड्ने यो प्रयासले नवलपुरको पहिचानलाई थप उचाइ दिने बताउनुभयो । गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्माले स्थानीय कला, साहित्य, संगीत र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु संस्थाको मूल लक्ष्य रहेको स्पष्ट पारे । इतिहासतर्फ संकेत गर्दै नगर प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सदस्य लेखराम सापकोटाले करिब ६० वर्षअघिको काव्यगोष्ठीको स्मरण गरे ।

“विसं २०२२ मा देवघाटमा दुई डुङ्गामा काव्यवाचन कार्यक्रम भएको थियो”, उनले भने, “त्यसयता यस्तो प्रयास नभएकाले यो कार्यक्रम विशेष बनेको छ ।”

त्यतिबेला राजा महेन्द्र देवघाटधाम अवलोकनका लागि आएका बेला देवघाटको वेणी सङ्गममा काव्य वाचन गरिएको र उक्त कार्यक्रमलाई आफूले नजिकैबाट नियालेको प्रा डा चूडामणि बन्धुले बताए । “कविता वाचनका लागि नाम टिपाएकाहरुले डुङ्गामा बसेर कविता सुनाए । मसँग कविता थिएन” उनले भन, “म किनार मै बसेर त्यो माहोल हेरेँ ।”

दुई दिनसम्म नदीमाथि भएको काव्य उत्सवमा सहभागी स्रष्टाहरुले आफ्ना रचनामार्फत पर्यटन र वर्तमान समाजलाई जोड्ने प्रयास गरेका थिए । बेलायतमा बस्दै आएका विश्लेषक नारायण गाउँलेले गजलमार्फत देशको वर्तमान अवस्थालाई प्रस्तुत गर्दा पोखराका शिव त्रिपाठीले प्राकृतिक सम्पदा र पर्यटकीय सौन्दर्यलाई छन्दमा उतारे। गजलकार एवं विश्लेषक गाउँलेले पवित्र नारायणीको पानीजहाजमा बसेर कविता सुन्ने र सुनाउने अनुभव अत्यन्तै अनौठो र गर्विलो रहेको बताए ।

करिब १०० भन्दा बढी सर्जकको सहभागिता रहेको यस उत्सवमा रचना वाचनसँगै कार्यपत्र प्रस्तुति र काव्य विमर्श समेटिएको थियो । लेखक भूपिन खड्काले ‘नेपाली पर्यटन काव्य, सम्भावना र चुनौती’ विषयमा अवधारणापत्र प्रस्तुत गरेको थियो । भूपिनको अवधारणापत्रको मूल आशय पर्यटन र काव्यबीचको गहिरो सम्बन्ध स्थापित गर्दै ‘पर्यटन काव्य’लाई सम्भावनायुक्त नयाँ साहित्यिक विधाका रुपमा प्रस्तुत गर्नु रहेको छ ।

भूपिनले मानव सभ्यताको विकास नै यात्रा र गतिशीलतासँग जोडिएको देखाउँदै पर्यटनलाई जीवनको स्वाभाविक र आवश्यक गतिविधि मानेको छ । उनले अवधारणापत्रमार्फत नेपालमा पर्यटन काव्यसम्बन्धी अध्ययन, विमर्श र कार्यक्रमहरु अझै न्यून रहेको उल्लेख गर्दै यस क्षेत्रमा थप पहल आवश्यक रहेको औंल्याएको छ । समग्रमा पर्यटन काव्यले साहित्य र पर्यटन दुवैलाई समृद्ध बनाउने पुलको काम गर्न सक्छ भन्ने निष्कर्ष उनको थियो ।

भूपिनको अवधारणापत्रमाथि विवेचना गर्दै नियात्राकार प्रतीक ढकालले नेपालको पर्यटन उद्योगको चर्चा अन्तर्राष्ट्रियस्तरमा सम्मानपूर्वक हुने गरेको बताए । हाम्रो हावापानी र भूबनोटसँग हामीले गर्व गर्नुपर्ने ढकालको तर्क थियो । वीरेन्द्र बहुमुखी क्याम्पसका सह–प्राध्यापक रमेशकुमार श्रेष्ठले गैँडाकोटले गरेको काव्य उत्सवले साहित्यिक जमघटसँगै पर्यटन र संस्कृतिको प्रवर्द्धन गर्ने सशक्त मञ्चका रुपमा स्थापित गरेको बताए ।

समालोचक उदय अधिकारीले २०२२ सालमा डुङ्गामा गरिएको साहित्यिक कार्यक्रमको परम्परालाई पुनर्जीवित गर्दै गैँडाकोट प्रज्ञा प्रतिष्ठानले निरन्तरता दिएको बताए । काव्यवाचन कार्यक्रममा घनश्याम परिश्रमी, विदुर अधिकारी, गोविन्द अर्याल, नीमा पौडेल तिवारी, होमनाथ घिमिरे, राधा कोइराला, बालकृष्ण थपलिया, एलबी क्षेत्री, लेखराम सापकोटालगायतका एक सय बढी स्रष्टाले कविता, गजल, गीतमार्फत आफ्ना सिर्जना प्रस्तुत गरेको थियो ।

गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदीले फरक किसिमको काव्य उत्सवमा उत्साहजनक सहभागिता देखेर खुसी लागेको बताए । जलयात्रा सकिएपछि कविहरु गैँडाकोटमा रहेको केबलकारमार्फत मौलाकालिका मन्दिर पुगेर कालिका भगवतीको दर्शन गरी देवघाटधाम, गैँडाकोट र चितवनका सुन्दर दृश्यावलोकन गरेका थिए ।

प्रकाशित समय : ०६:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु