गृहपृष्ठ युईएफए महिला च्याम्पियन्स लिगः बार्सिलोना सेमिफाइनलमा
युईएफए महिला च्याम्पियन्स लिगः बार्सिलोना सेमिफाइनलमा
आफ्नै देशको रियल मड्रिडविरुद्ध समग्रमा १२–२ को एकतर्फी जित निकाल्दै स्पेनिस क्लब बार्सिलोना युईएफए महिला च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार क्याम्प नोउमा सम्पन्न क्वार्टरफाइनलको दोस्रो लेगमा घरेलु टोली बार्सिलोना ६–० ले विजयी भयो । पहिलो लेगमा टोलीले ६–२ को जित निकालेको थियो ।
बार्सिलोनालाई जित दिलाउन क्यारोलिन ग्राहम ह्यान्सेनले २ तथा एलेक्सिया पुटेलास, इरेन परेडेस, इवा पाजोर र एस्मी ब्रुग्ट्सले १–१ गोल गरे ।
खेलको आठौँ मिनेटमा पुटेलासको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । ७ मिनेटपछि नै ह्यान्सेनले टोलीको अग्रता दोब्बर बनाइन् ।
परेडेसले २७औँ मिनेटमा गोल गर्दा बार्सिलोनाको अग्रता ३–० मा पुग्यो । ३४औँ मिनेटमा पाजोरले टोलीलाई ४–० ले अगाडि बढाइन् ।
ह्यान्सेनले ५५औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँ गोल गरिन् । ७४औँ मिनेटमा ब्रुग्ट्सले बार्सिलोनाका लागि छैटौँ गोल गरिन् ।
बार्सिलोनाले सेमिफाइनलमा जर्मन क्लब बायर्न म्युनिखको सामना गर्नेछ । बायर्न इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई समग्रमा ५–३ ले पराजित गर्दै अन्तिम–४ मा पुगेको हो ।
यसैगरी, अर्को सेमिफाइनलमा इंग्लिस क्लब आर्सनलले फ्रान्सको लियोनको समान गर्नेछ । आर्सनलले चेल्सी तथा लियोनले उल्भ्सबर्गको चुनौती पन्छाउँदै सेमिफाइनलको यात्रा तय गरेका हुन् ।
प्रकाशित समय : १०:३७ बजे



















