थाइल्याण्ड र कम्बोडियाका नेताबीच मलेशियामा शान्ति वार्ता शुरु
वि.सं.२०८२ साउन १२ सोमवार १३:५६
shares

थाइल्याण्ड र कम्बोडियाका सरकारप्रमुखबीच मलेशियामा शान्तिवार्ता शुरु भएको छ । मलेशियाको रजधानी क्वालालम्पुरमा थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाई र कम्बोडियाका प्रधानमन्त्री हुन मनेटबीच वार्ता शुरु भएको हो ।
यस वार्ताको मध्यस्थता मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले गरिरहेका छन् । उनकै निवासमा वार्ता भइरहेको समाचार संस्था एपीले जनाएको छ ।
दक्षिणपूर्वी एशियाली मुलुकहरुको समूह आशियानको अध्यक्षका रुपमा मलेशियाका प्रधानमन्त्री मध्यस्थकर्ता बनेका हुन् । गत बिहीबार कम्बोडिया र थाइल्याण्डबीच द्वन्द्व शुरु भएको पाचौँ दिनमा दुबै मुलुकका नेताहरु वार्तामा जुटेका हुन् । दुबै मुलुकले एक अर्कामाथि द्वन्द्व शुरु गरेको आरोप लगाएका छन् ।
कम्बोडिया र थाइल्याण्डबीच सीमा क्षेत्रमा रहेको विवादित हिन्दू मन्दिरको विषयलाई लिएर यी दुई मुलुकबीच बेलाबेला तनाव उत्पन्न हुँदै आएको छ ।
द्वन्द्वका क्रममा हालसम्म दुबै पक्षका गरी ३५ जनाको ज्यान गएको र अरु २ लाख ६० हजारभन्दा धेरै घाइते भएका छन् । दुबै मुलुकले एक अर्को मुलुकबाट राजदूत फिर्ता बोलाएका छन् भने सीमा क्षेत्र बन्द गरिएको छ ।
मलेशियाका प्रधानमन्त्री इब्राहिमले दुबै पक्षले शान्तिका लागि आवश्यक सर्त अघि सार्ने अपेक्षा गरिएको छ । यद्यपि वार्तामा तत्काल युद्धविराम गर्ने विषयलाई पहिलो प्राथमिकता दिइएको छ ।
यसअघि गत शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै मुलुकलाई शान्ति वार्ताका लागि दबाब दिएका थिए । उनले दुई देशबीच द्वन्द्व कायम रहे त्यसले अमेरिकासँगको व्यापार सम्झौतामा असर पार्ने चेतावनी दिएका थिए ।






















