गृहपृष्ठ एसपीको साँठगाँठमा इन्स्पेक्टर बिनुले मच्चाएको ‘हनी ट्रयाप’ प्रकरण, सीआईबीले नै जोगाएर मुद्दा लियो !
एसपीको साँठगाँठमा इन्स्पेक्टर बिनुले मच्चाएको ‘हनी ट्रयाप’ प्रकरण, सीआईबीले नै जोगाएर मुद्दा लियो !
यो खतरनाक प्रकरणको गिरोहमा मुख्यतः चार जनाको भूमिका अहम् छ ।
नम्बर १- इन्स्पेक्टर बिनुकुमारी शाही
नम्बर २- एसपी कमल थापा
नम्बर ३- तजम्मुल इस्लाम
र, नम्बर ४- सुस्मा विश्वकर्मा
गिरोहमा अन्य केही पात्रको पनि भूमिका छ, जसले ५० लाखको माग गर्दै नदिए बलात्कारको मुद्दा लगाएर जेलमा सडाईदिने भन्दै व्यवसायीसँग असूली गरेका छन् । त्यसमध्ये केही पात्रलाई प्रतिवादी बनाएर सीआईबीले मुद्दा दायर गरेको छ भने मुख्य भूमिका भएकै एसपीलाई छुट दिएको आरोप प्रहरीमाथि नै छ । र यो घट्नाले देखाउँछ युवतीको प्रयोग गरि कसरी व्यवसायीलाई फसाउन ‘हनी ट्रयाप’को जाल रचिएको थियो भन्ने ।
घट्नाको सुरुवात गत साउनदेखि नै हुन्छ । धनकुटा घर भई इटहरीको एउटा होटलमा काम गर्दै आएकी १९ बर्षिया युवती सुस्मा विश्वकर्मासँग एकजना काम र दाम दुवै भएका जग्गा व्यवसायीको चिनजान हुन्छ । ललितपुरका ति व्यवसायी इटहरी गएकै बेला उनीहरु चिनजान भएको थियो । त्यसपछि पनि उनीहरुको भेटघाट र उठबस रहेको निष्कर्ष प्रहरी अनुसन्धानले देखाएको छ ।
तर असोजमा आएर घट्नाक्रमहरु फेरिन्छन् । ती युवतीको सम्बन्ध ‘हनी ट्रयाप’को गिरोहसँग हुन्छ । अथवा उनीहरुको चिनजान र सम्बन्धकै फाइदा उठाएर गत असोजमा गिरोहको प्रवेश हुन्छ । र यो गिरोहका योजनाकार हुन्छन्, सुनसरीको दुहवी नगरपालिका–८ घर भई इटहरी बस्दै आएका ३२ बर्षिय ताजमुल भन्ने तजम्मुल इस्लाम । तजम्मुल र सुस्मासँग चिनजान भएका अर्का पात्र हुन्छन्, दर्शन पोखरेल । सुस्माले पैसावाल व्यवसायीसँग आफ्नो निकट सम्बन्ध रहेको कुरा दर्शनलाई बताउँछिन् । दर्शनले तजम्मुललाई बताउँछन् । त्यसपछि ति व्यवसायीलाई फसाएर पैसा असुल्ने योजना उनीहरुको बन्छ । यसका लागि सबैभन्दा सजिलो उपाय थियो, व्यवसायीलाई बलात्कारको मुद्दामा फसाउने । तर त्यसका लागि प्रहरीको सहयोग चाहिने भएपछि गिरोह इटहरीबाट काठमाडौं हानिन्छ ।
काठमाडौं आउनुभन्दा अघि नै तजम्मुलले एसपी कमल थापालाई सम्पर्क गर्छन् । उनीहरुबीच एसपी थापा जिल्ला प्रहरी कार्यालय सुनसरीमै हुँदा चिनजान भएको थियो । त्यतिबेला तजम्मुलले राष्ट्रिय अनुसन्धान कार्यालयमा सूचकको काम गर्थे । घट्नाक्रम सबै बताएपछि एसपी थापाले त्यो व्यक्ति कुन एरियामा बस्छ भनेर सोध्छन् । तजम्मुलले एकान्तकुना बताएपछि एसपी थापाले ‘भैंसेपाटी जाउ, त्यहाँ मेरो मान्छे छ, म भन्दिन्छु’ भन्छन् ।
असोज ५ गते बेलुका सुस्मा र गिरोहकै अर्की सदस्य भिमादेवी थापा बसमार्फत काठमाडौं आउँछन् । तर तजम्मुल, दर्शन र अनिषा कार्कीसहितका तीन जना प्लेनमार्फत आउँछन् । यहाँ जोडिएकी कार्की तजम्मुलकी प्रेमिका रहेको खुलेको छ । योजना मुताबिक काठमाडौं आएपछि असोज ६ गते तजम्मुलले फेरि एसपी थापालाई ह्वाट्सएपमा कल गर्छन् । थापाले मैले कुरा गर्दिसकेको छु भनेपछि उनीहरु भैंसेपाटी प्रहरी प्रभाग पुग्छन् । यहाँ भेट हुन्छ, एसपी कमल थापाले मेरो मान्छे भनेकी इन्स्पेक्टर बिनु शाहीसँग । जो यो प्रभागको प्रमुख थिइन् ।
पुरापुर योजना यही बन्छ । अब असली खेल सुरु हुन्छ । सम्पर्क गर्दै आएकी सुस्माले भैंसेपाटी प्रहरी प्रभाग नजिकै रहेको रेष्टुराँमा व्यवसायीलाई बोलाएर भेट गर्छिन् । तर उनीहरुको योजनाअनुसार असोज ७ गते इन्स्पेक्टर बिनु नेतृत्वको प्रहरी पुगेर व्यवसायीलाई पक्राउ गर्छ ।
व्यवसायीलाई पक्राउ गरि प्रहरी कार्यालय ल्याएपछि बिनुकै सल्लाहमा कुटपिट र गालीगलौजको निवेदन तयार पारिन्छ । तर दर्ता गरिँदैन । इन्स्पेक्टर बिनुकै कार्यकक्षमा छलफल हुन्छ । व्यवसायीसँग ५० लाख मागिन्छ । रकम नदिए बलात्कारको मुद्दा लगाएर जेल हाल्ने दबाब दिइन्छ । बलात्कार भन्न बित्तिकै डराएका व्यवसायीले तर त्यत्रो रकम सक्दिँन्न भनेपछि ३० लाखमा डिल टुगिन्छ ।
डिल अनुसार नै व्यवसायीले तत्काल २० लाख नगद र तीन महिनापछि साट्नेगरि १० लाखको चेक दिने सहमति गर्छन् । सोही अनुसार गिरोहकै सदस्य भिमादेवी थापाका नाममा पहिलोपटक ७ लाख र दोस्रोपटक १३ लाख गरि २० लाख रुपैयाँ जम्मा गरिदिन्छन् ।
तर व्यवसायी प्रहरीकै मिलेमतोमा आफुलाई फसाएको भन्दै जिल्ला प्रहरी परिसर जावालखेल पुगेपछि घटनाले अर्काे मोड लिन्छ । प्रहरीले डीएसपी नरहरि अधिकारीको नेतृत्वमा समिति बनाएर छानबिन गर्दा इन्स्पेक्टर बिनुकै भूमिका देखिन्छ । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि एकाएक फरार हुन्छिन् । घट्नामा माथि उल्लेख्यित तथ्यहरु देखिएपछि एसपी कमल थापाको कनेक्सनसमेत पत्ता लाग्छ । जुन पक्राउ परेका प्रतिवादीले दिएको बयान र प्रहरी अनुसन्धानमा आधारित छ । यसपछि मात्रै परिसरबाट अनुसन्धानको जिम्मा सीआईबीले लिएको छ ।
इन्स्पेक्टर बिनु र एसपी थापा यसअघि कञ्चनपुर प्रहरी कार्यालयमा सँगै थिए । त्यतिबेला पनि उनीहरुका अनेक काण्ड बाहिर आएका थिए । जसकाबारेमा समाचार लेखेपछि दुईजना पत्रकारलाई उनीहरुले पक्राउ नै गरेका थिए । त्यही चिनजानले हनी ट्रयापसम्मै उनीहरुलाई जोडेको थियो । तर सीआईबीले अनुसन्धान गरि अहिले मुद्दा दायर गरेको छ । जसमा इन्स्पेक्टर बिनु शाही, उनका ड्राइभर जो पैसा बोकेर जम्मा गर्न गएका थिए हवल्दार महेन्द्र हमाल, तजम्मुल इस्लाम, दर्शन पोखरेल, सुस्मा बिश्वकर्मा र भिमादेवी थापासहित ६ जनालाई प्रतिवादी बनाएर सीआईबीले मुद्दा दायर गरेको छ । तर माथिका घट्नाक्रमले भूमिका देखाएका एसपी कमल थापाविरुद्ध कागज गरिएपनि मुद्दा चलाएको छैन । जबकि व्यवसायीलाई पक्राउ गरिएकै दिन असोज ७ गते बेलुका नै योजनाकार तज्जमुल र एसपी थापाबीच विमानस्थलको रेष्टुरेन्टमा भेट भएको सीसीटीभी फुटेजसमेत प्रहरी भेटाएको छ । उनले बयानक्रममा समेत आफुले भेटेको स्वीकार गरेका छन् । तर इन्स्पेक्टर बिनुलाई भेट्न पठाएको अस्वीकार गरेका छन् । तर कल डिटेलले उनीहरुबीच २० पटक कुराकानी भएको देखाएको छ । ‘बजारमा आएका कुराहरुले मात्रै हुँदैन ।’, सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगीले भने, ‘एसपी थापाका बारेमा यथेष्ट प्रमाण भेटिएको छैन । योजनाकारले मौखिक रुपमा केही कुरा भनेका छन् ।’ तथापी अहिलेसम्म फरार इन्स्पेक्टर बिनु शाहीलाई पक्राउ पनि गरिएको छैन ।
उनीहरुविरुद्ध आपराधिक लाभ र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ । प्रहरीले कल डिटेलदेखि म्यासेज र सीसीटीभी फुटेजसमेत अदालतलाई बुझाएको छ । सरकारी वकिलको कार्यालय ललितपुरले तयार पारेको अभियोग पत्रमा एसपी कमल थापा, भगवती थापा, खुसी रसाइली र अनिषा कार्कीमाथि समेत थप अनुसन्धान गर्न भनिएको छ । यद्यपी इन्सपेक्टर बिनुलाई नै फरार बनाएर मुद्दा अदालतमा पु¥याएकाले उपल्लो ओहोदाका एसपी थापामाथि अनुसन्धान हुनेमा संशय छ ।
प्रकाशित समय : १६:०० बजे