global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ ‘अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ’

‘अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ’

‘अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ’

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरूलाई शय्याका आधारमा नभई सेवाका आधारमा वर्गीकरण गर्नुपर्ने बताएको छ । आज आयोजित नेपाली कांग्रेसका अग्रज नेता स्व बलबहादुर श्रेष्ठको १२औँ स्मृति सभामा अस्पताललाई शय्याका आधारमा वर्गीकरण गर्दा व्यवस्थित र प्रभावकारी बनाउन नसकिने धारणा राखे ।

अस्पताललाई वर्गीकरण गर्दा सेवाका आधारमा गर्नुपर्नेमा जोड दिँदै मन्त्री पौडेलले यसले अस्पतालको सेवा प्रभावकारी र नागरिकमैत्री बन्दै जाने विश्वास व्यक्त गरे । स्वास्थ्य क्षेत्रभित्र समाजवाद र लोकतन्त्र रहेको भन्दै यसलाई अनुभूतिमा परिवर्तन गर्न आजको स्वास्थ्य परिस्थितिलाई बदल्न जरुरी रहेको बताए ।

मन्त्री पौडेलले भने, “स्वास्थ्य क्षेत्रमा केही नभएको होइन, आवश्यकताअनुसार नभएको मात्रै हो । यसलाई सुधार गर्दै जानु जरुरी छ ।” जनताको आधारभूत स्वास्थ्य संवैधानिक अधिकार रहेको बताउँदै संविधानले व्यवस्था गरेको स्वास्थ्यको हकलाई सुनिश्चित गराउन स्रोतको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए ।

सीमित साधन, स्रोतभित्र अधिकतम काम गर्नुपर्ने आजको स्थिति रहेको रहेको मन्त्री पौडेलको भनाइ थियो । “सीमित स्रोत, साधन र जनशक्तिले धेरै सेवा दिनुपर्ने बाध्यता छ । यसलाई व्यवस्थापन गर्न मन्त्रालय लागिपरेको छ ।”

मन्त्री पौडेलले १४ वर्षमुनिका बालकालिकाको क्यान्सरको उपचार पाँचवटा अस्पतालमा निःशुल्क हुने व्यवस्था गरेको बताउँदै अन्य उपचारमा पनि राज्यलाई दायित्व नबढ्ने गरी व्यवस्थापन गर्ने काम भइरहेको जानकाररी दिए । जलन उपचारका लागि यस वर्ष नेपालका आठवटा अस्पतालमा निःशुल्क सेवाको व्यवस्था गरिएको  उल्लेख गरे ।

विसं २००८ मङ्सिर १२ गते हालको इच्छाकामना गाउँपालिका–२ विप्राङमा जन्मिनुभएका कांग्रेसका पुराना नेता श्रेष्ठको १२औँ स्मृतिमा कार्यक्रम आयोजना गरिएको हो । २५ वर्ष जनप्रतिनिधि भएर काम गर्नुभएका श्रेष्ठले विसं २०३५ मा  बनेको शक्तिखोर गाउँ पञ्चायतको पहिलो प्रधानपञ्चमा निर्वाचित भएको थियो । सामाजिक क्षेत्रमा योगदान दिएका श्रेष्ठले स्थानीय स्वास्थ्य चौकीलाई १० कट्ठा जमिन दान गरेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, अञ्जली श्रेष्ठ, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेपाली कांग्रेस चितवनका पूर्वसभापति शेषनाथ अधिकारी, कृष्णलाल सापकोटा, नेपाली कांग्रेस बागमती प्रदेश सदस्य कुमार कार्की, नेपाली कांग्रेसका पूर्ववडा सभापति लीलाबहादुर श्रेष्ठ, नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठलगायत व्यक्ताले बलबहादुरले राजनीतिक तथा सामाजिक रूपमा खेलेको भूमिकाका बारेमा चर्चा गरेको थियो ।

नेपाली कांग्रेस कालिका नगरपालिका–९ ले आयोजना गरेको कार्यक्रमको अध्यक्षता सभापति कुमलाल श्रेष्ठ गरेको थियो । कार्यक्रममा कांग्रेसका केन्द्र, प्रदेश र स्थानीय नेता, स्थानीय जनसमुदायको उपस्थिति थियो ।

प्रकाशित समय : १६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु