गृहपृष्ठ ‘कानुनी रुपमा प्रदेशलाई बलियो बनाउनुपर्ने’
‘कानुनी रुपमा प्रदेशलाई बलियो बनाउनुपर्ने’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीयताको सवलीकरणका लागि संविधानले प्रदेशलाई कानुनी रुपमा बलियो बनाउनुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज लुम्बिनी प्रदेशमा आयोजित सङ्घीयता सवलीकरणसम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दैै मुख्यमन्त्री आचार्यले सङ्घीयताको सवलीकरणका लागि प्रदेश सरकारलाई पूर्ण रुपमा अधिकार सम्पन्न बनाइनुपर्ने बताए।
“संविधानले प्रदान गरेका अधिकार माथि कसैले हस्तक्षेप गर्न हुँदैन”, मुख्यमन्त्री आचार्यले भने, “संविधानले दिएको अधिकार सङ्घले रोक्ने काम गर्न हुँदैन । समानिकरण अनुदान रोकेर राम्रो भएन । प्रदेशलाई ऋणात्मक बनाउने काम भयो ।” प्रदेश सरकारले गरेका राम्रा काम नागरिकले महसुस गर्ने अवस्थामा पुगेको उनले बताए ।
राजनीतिक अस्थिरताले केही समस्या देखिए पनि अब ती समस्या गौण भएर जाने स्पष्ट पारे । “अहिले मुलुक सही दिशातर्फ अघि बढिरहेको छ । संविधान निर्जीव वस्तु होइन, नमिलेको कुरा मिलाउन सकिन्छ”, उनले भने, “राजनीतिक अस्थिरताको अन्त्यका लागि संविधान संशोधन गरेर जान सकिन्छ । यो संशोधन गर्दा कसैलाई निषेध गर्न हुँदैन । सबैको सहमति र सहकार्यमा अघि बढाउनुपर्छ ।” प्रदेश सरकारले संविधानमा उल्लेखित अधिकारअनुसार समानीकरण अनुदान प्राप्त गर्न नसक्दा आर्थिक क्षेत्रमा केही जटिलता देखिएको मुख्यमन्त्री आचार्यले चर्चा गरे ।
प्रकाशित समय : १९:२८ बजे


















