global ime bank Long Banner Ad

गृहपृष्ठ सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गतिमा छ : उपाध्यक्ष भट्ट

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गतिमा छ : उपाध्यक्ष भट्ट

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गतिमा छ : उपाध्यक्ष भट्ट

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यमा अगाडि बढिरहेको बताएका छन् ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २५औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उपाध्यक्ष भट्टले सुस्ताएको आर्थिक अवस्थालाई चलायमान बनाउँदै सरकारले अघि सारेको सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने योजनाका साथ काम गरिरहेको बताए ।

उनले वर्तमान सरकार निजी क्षेत्र र सहकारी क्षेत्रलाई समेत सँगसँगै लिएर आर्थिक सबलीकरणका कार्यक्रमलाई बढावा दिँदै जाने कुरामा सकारात्मक रहेको बताए ।

उपाध्यक्ष भट्टले नेपालको गरिबी निवारण र ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढाउने विषयमा साना किसान विकास लघुवित्त वित्तीय संस्था एक अग्रणी संस्था रहेको प्रतिक्रिया दिए ।

उनले साना किसानको काम र प्रभावलाई हेरेर अब साना किसान विकास लघुवित्त वित्तीय संस्थालाई विशिष्टीकृत संस्थाका रूपमा विकास गर्न आवश्यक रहेको बताए । वास्तविक किसानको बीचमा पुगेर काम गर्ने र सफल तथा सकारात्मक रूपान्तरणका लागि काम गर्ने संस्था भएकाले यसको प्रभाव अझ बढाउन सकिने उनको भनाइ थियो ।

देशको समग्र आर्थिक अवस्था सुधारमा साना किसानहरूको भूमिका महत्वपूर्ण रहने भन्दै उनले यसतर्फ सरकारले विशेष कार्यक्रम अघि बढाउने बताए । साना किसानहरूको उत्थानबाट मात्रै देशमा गरिबी निवारणसहित आर्थिक सामाजिक रूपान्तरण गर्न सकिने भन्दै उनले साना किसानलाई ढुक्क भएर काम गर्न आग्रह गरे ।

सरकारले सरकारी, निजी र सहकारी संस्थाहरूको सबलीकरणमार्फत संस्थागत दिगो प्रणालीमा विशेष कार्यक्रम अघि बढाउने बताए ।

ठूला परियोजना निर्माणसँगै साना उद्यमीहरूले पनि अवसर पाउने भन्दै उनले ठूला परियोजना र पूर्वाधार विकासमा जोड दिँदै साना उद्यमीलाई पनि सँगसँगै अघि बढाउने बताए ।

समावेशी सहभागितामा जोड दिँदै सरकारले अघि बढाएका कार्यक्रममा साना किसानको समूह निर्माण र सहभागिताले यसलाई प्रमाणित गरिसकेको बताए । साना किसान कार्यक्रम र यसको प्रभावलाई निरन्तर बढाउँदै लैजानुपर्ने धारणा उनले राखे ।

कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकले सरकारले अघि बढाएका हरेक काम र कार्यक्रममा साना किसान अभियान सँगसँगै अघि बढेको बताए । आगामी दिनमा पनि सरकारले अघि सारेका आर्थिक सामाजिक रूपान्तरणका कार्यक्रम कार्यान्वयनमा साना किसान अभियान र यससँग आबद्ध संस्था एवं सदस्यहरू प्रतिबद्ध भएर काम गर्ने बताए ।

अध्यक्ष पाठकले साना किसान कार्यक्रमलाई सहयोग गरेकोमा सरकारप्रति धन्यवाद व्यक्त गर्दै किसानको उत्पादनलाई बजारसँग जोड्ने कार्यक्रममा साथ दिन आग्रह गरे । किसानले उत्पादन गरेर मात्रै आर्थिक समृद्धि हासिल गर्न नसक्ने भन्दै किसानको आफ्नै बजार व्यवस्थापनका लागि सरकारले विशेष रूपमा सोच्नुपर्ने माग गरे ।

उनले किसानहरूले उत्पादन बिक्री वितरणका लागि बजारको माग गरे पनि सरकारले यस विषयमा अन्तिम निर्णय लिन नसक्दा किसानहरूले आफ्ना उत्पादन आफैं बिक्री वितरण गर्न नसकेको गुनासो गरे ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत वासु अधिकारीले संस्थाको आर्थिक तथा व्यावसायिक प्रगतिबारे जानकारी गराए । उनले दिगो विकास लक्ष्य हासिल गर्न कृषिमा महिला, युवा, दलित, जनजाति, राउटे, बनकरी तथा पछाडि परेका समुदायलाई कृषि उत्पादनमार्फत मूलधारमा जोड्ने काम गरिएको बताए ।

विश्व अर्थतन्त्रमा परेको प्रभाव र चुनौती नेपालका आर्थिक तथा बैंकिङ क्षेत्रमा समेत परेको भन्दै उनले यसबाट माथि उठ्न साना तथा लघु उद्यमको प्रवर्द्धन महत्वपूर्ण रहने बताए ।

उनले साना किसान विकास लघुवित्त वित्तीय संस्थाले निरन्तर रूपमा ग्रामीण अर्थतन्त्र चलायमान बनाउँदै समग्र आर्थिक सामाजिक रूपान्तरणमा खेलेको भूमिकालाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा संस्थाका उत्कृष्ट शाखा कार्यालय तथा साझेदार संस्थाहरूलाई सम्मान गरिएको थियो ।

प्रकाशित समय : २०:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु