गृहपृष्ठ अर्थमन्त्री पौडेलले भने-दुई महिनामै गत वर्षभरिको भन्दा बढी राजश्व उठ्यो
अर्थमन्त्री पौडेलले भने-दुई महिनामै गत वर्षभरिको भन्दा बढी राजश्व उठ्यो
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको दुई महिनामै गत वर्षको वर्ष दिनको भन्दा बढी राजश्व शेयर कारोबारबाट संकलन गरेको दाबी गरेका छन् ।
बुधवार नेप्से कार्यालयमा पुगेका अर्थमन्त्री पौडेलले गत आर्थिक वर्षभर शेयर कारोबारबाट ५ अर्बको हाराहारीमा राजश्व संकलन भएको तर यस वर्षको दुई महिनामै करिव पौने सात अर्ब बराबरको राजश्व संकलन गर्न सरकार सफल भएको दाबी गरेका हुन् ।
उनले चालू आर्थिक वर्ष ०८१-८२ मा शेयरबजारबाट साउनमा ४ अर्ब २३ करोड र भदौ महिनामा दुई अर्ब ५७ करोड राजश्व संकलन भएको बताए । उनले ३ हजार ४० मा पुगेको नेप्से एकाएक २५ सयमा कसरी झर्यो भन्दै प्रश्न गरे । उनले आफूले सो कुराको सही जवाफ नपाएसम्म स्वयं र कर्मचारीहरूलाई सोधिरहने बताए ।
उनले नेपालको पूँजी बजार र पुँजी बजारको सम्भावना, यसले भोगिरहेका समस्या, समाधानका उपायका विषयमा संस्थागत संरचनाहरू भित्र पनि, सम्बन्धित संस्थाहरूभित्र पनि र सार्वजनिक रूपमा पनि काफी छलफल, बहस हुने गरेको बताए । राजनीतिक रूपले अहिले पूँजी बजार नघटेको भन्दै पुँजी बजार बढाउन आवश्यक कदमहरू चाल्न सरकार तयार रहेको बताए ।
उपप्रधानमन्त्री पौडेलले प्रविधिबारे अपडेट हुन टाइम बाउण्ड क्यालेण्डर बनाइ काम गर्न पनि सम्बन्धित सरोकारवाला निकायहरूलाई निर्देशन दिए । उनले जनशक्ति व्यवस्थापनको योजना बनाउन, गुणस्तरीय सेवा प्रवाहमा जोड दिन पनि निर्देशन दिए ।
प्रकाशित समय : १९:१९ बजे



















