global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ चाडपर्व लक्षित सडक दुर्घटना न्यूनीकरणमा जोड

चाडपर्व लक्षित सडक दुर्घटना न्यूनीकरणमा जोड

चाडपर्व लक्षित सडक दुर्घटना न्यूनीकरणमा जोड

दसैँ, तिहारजस्ता चाडपर्वमा हुनसक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जोड दिएको छ । चाडपर्वका समयमा काठमाडौंबाट बाहिरिने यात्रुको घुइँचो अत्यधिक हुने र उक्त समयमा दुर्घटनाको जोखिम पनि उच्च हुने भएकाले त्यसको नियन्त्रण गर्न मन्त्रालयले अग्रसरता लिएको हो ।

आज मन्त्रालयमा आयोजित सरोकार भएका निकायबीचको छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चाडपर्व सुरु हुनुअघि सडकका खाल्डाखुल्टी तत्काल पुरिसक्न निर्देशन दिए । जोखिम रहेका स्थानमा सडक सुरक्षाका पूर्वाधार निर्माण र मर्मत गर्न निर्देशन दिदै उनले सवारी नियम उल्लङ्घन नियन्त्रण, दुर्घटना भएकाको उद्धार र अस्पतालसम्म पु-याउने व्यवस्थाका लागि नेपाल प्रहरीलाई पनि तयारी अवस्थामा रहन आग्रह गरे।

सडक सुरक्षाको दीर्घकालीन व्यवस्थापनका लागि नीतिगत र कानुनी व्यवस्था गर्न मन्त्रालयले अगुवाइ लिने भन्दै यातायातमन्त्री दाहालले सडक सुरक्षा परिषद्लाई क्रियाशील र प्रभावकारी बनाइने बताए । सुरक्षित सडक, चुस्त सवारीसाधन, दक्ष चालक र सचेत यात्रु भएमा मात्र सडक सुरक्षा कायम गर्न सकिने भन्दै उनले यसका लागि तीनै तहका सरकार र सम्बद्ध निकायबीच सहकार्यको खाँचो रहेकामा जोड दिए।

मन्त्रालयका सचिव केशवकुमार शर्माले चाडपर्व नजिक आइरहेकाले सडक तथा सवारी सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि विशेष ध्यान दिन आवश्यक रहेको बताए। लामो दूरीका सवारीसाधनमा अनिवार्य दुई जना चालक राख्ने, सवारी नियमको पालना गर्ने जस्ता कार्यलाई प्रभावकारी कार्यान्वयन गराउन उनले जोड दिए।

कार्यक्रममा सडक सुरक्षाका विज्ञ डा पार्थमणि पराजुली, सरोजकुमार प्रधानलगायतले सडक सुरक्षा परिषद्लाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा नेपाल प्रहरी, स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, सडक विभाग, सडक बोर्ड, यातायात व्यवस्था विभागलगायत विभिन्न निकायका अधिकारीले सडक सुरक्षाका लागि भइरहेका प्रयास र योजनाबारेमा प्रकाश पारेका थिए।

प्रकाशित समय : १५:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु