पोखराको राजस्व सङ्कलन सात प्रतिशतले वृद्धि
वि.सं.२०८१ साउन २ बुधवार १९:०४
shares

आन्तरिक राजस्व कार्यालय पोखराको अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०÷८१ मा राजस्व सङ्कलन सात प्रतिशतले वृद्धि भएको छ ।
विशेषगरी गत वर्ष यहाँको पर्यटकीय क्षेत्र चलायमान हुँदा यसको प्रभाव राजस्व वृद्धिमा देखिएको हो । गत आवमा रु पाँच अर्ब ५७ करोड ५५ लाख राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । कार्यालयले गत वर्ष रु छ अर्ब ३९ करोड ४७ लाख राजस्व उठाउने लक्ष्य राखेकामा लक्ष्यको ८७ दशमलव १९ प्रतिशत प्रगति भएको कार्यालय प्रमुख एवं प्रमुख कर अधिकृत शिव शर्माले जानकारी दिए ।
कार्यालयको अघिल्लो वर्षको तुलनामा सात प्रतिशतले राजस्व वृद्धि भएको छ । कार्यालयले आव २०७९÷८० मा रु पाँच अर्ब २२ करोड ६० लाख राजस्व उठाएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष रु ३४ करोड ९५ लाख बढी राजस्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ । आन्तरिक राजस्व कार्यालय पोखराले गत आवमा आयकरतर्फ रु तीन अर्ब ६६ करोड ८७ लाख, मूल्यअभिवृद्धि कर(भ्याट)बाट रु एक अर्ब ७३ करोड ३६ लाख र अन्तःशुल्कतर्फ रु १६ करोड ६७ लाख आम्दानी गरेको थियो ।

























