गृहपृष्ठ अनुशासित र कर्तव्यनिष्ठ नागरिक बनाउन स्काउटिङ्ग आवश्यक
अनुशासित र कर्तव्यनिष्ठ नागरिक बनाउन स्काउटिङ्ग आवश्यक
नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय, भक्तपुरको आयोजनामा शनिवार स्काउट मास्टर भेलाका साथ समीक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले अनुशासित, कर्तव्यनिष्ठ र इमान्दार नागरिक उत्पादन गर्न स्काउटिङ्ग शिक्षा अपरिहार्य भएकोमा जोड दिएको थियो ।
नेपाल स्काउटका पूर्व राष्ट्रिय सचिव रामगोपाल कर्माचार्यले समाजलाई अनुशासित र स्वयंसेवी बनाउनका लागि स्काउट पाठ्यक्रमको व्यवस्था गरी उमेर अनुसार शैक्षिक क्रियाकलाप बनाएको बारे समाजलाई जानकारी दिनुपर्ने बताए ।
भक्तपुरमा स्काउटिङ्ग गतिविधिलाई थप सक्रिय पार्ने हेतुका साथ भएको कार्यक्रममा सदस्यता वृद्धि आयुक्त पूर्ण दुवालले स्वागत तथा कार्यक्रमको औचित्यतामाथि प्रष्ट पार्दै स्काउटिङ्ग क्रियाकलापमा एकरुपता ल्याउनु आवश्यक रहेको चर्चा गरे ।
स्काउटलाई शैक्षिक अभियानका रुपमा अगाडि लान विद्यालय व्यवस्थापन र अभिभावकलाई सचेत पार्नुपर्ने आवश्यक रहेको बताउँदै उनले दैवीप्रकोपलगायतका समयमा स्काउटले आफू पनि बचेर अरुलाई बचाउन सक्ने भएकाले यसको औचित्यताका बारेमा प्रचार अझै आवश्यक भएको धारणा राखे ।
स्थानीय परिषद सदस्य तथा वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले विद्यालयहरुमा स्काउट शिक्षकहरु चलाक हुने गरेको र अतिरिक्त क्रियाकलापमा स्काउट मास्टर नै सक्रिय हुने गरेको दृष्टान्त प्रस्तुत गर्दै स्काउट शिक्षालाई जीवनपद्धतिसँग जोड्नु पर्ने आवश्यकता औंल्याए ।
प्रकाशित समय : १९:३१ बजे



















