काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशत घट्यो

1.7K
shares

वीरगञ्ज (पर्सा), २६ कात्तिकः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात ६३ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चामल, धान, मकै, गहुँलगायत खाद्यान्नको आयातमा उल्लेख्य कमी आएको हो।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको साउनदेखि असोजसम्म तीन करोड १६ लाख ४० हजार किलो खाद्यान्न आयात भएको छ। अघिल्लो आवको सोही अवधिमा आठ करोड ७० लाख ४७ हजार किलो खाद्यान्न आयात भएको थियो।

भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार चालु आवको पहिलो तीन महिनामा ६७ लाख ७३ हजार ६२९ किलो चामल आयात भएको छ। अघिल्लो आवको सोही अवधिमा ९४ लाख एक हजार किलो चामल आयात भएको थियो। चामल आयातको मूल्यसमेत ८९ करोड ८१ लाख रुपैयाँबाट घटेर ७० करोड रुपैयाँमा झरेको छ।

धान आयातमा पनि ठूलो गिरावट आएको छ। अघिल्लो आवको पहिलो त्रैमासिकमा तीन करोड ९१ लाख किलो धान आयात भएकामा चालु आवको सोही अवधिमा ६९ लाख ३५ हजार ४६० किलो मात्रै आयात भएको छ। धान आयातको मूल्यसमेत एक अर्ब ४६ करोड २८ लाख रुपैयाँबाट घटेर ३३ करोड ३५ लाख रुपैयाँमा सीमित भएको छ।

त्यस्तै, मकै आयात पनि घटेको छ। अघिल्लो आवको पहिलो तीन महिनामा तीन करोड ३६ लाख १२ हजार ८१० किलो मकै आयात भएकामा चालु आवमा ६७ लाख ३६ हजार ४३७ किलो मात्रै आयात भएको भन्सार कार्यालयले जनाएको छ। मकै आयातको मूल्य एक अर्ब ८० करोड १३ लाख रुपैयाँबाट घटेर ६० करोड ९८ लाख रुपैयाँमा झरेको छ।

फापर, कोदो तथा अन्य खाद्यान्नको आयातमा समेत कमी आएको छ। अघिल्लो आवको पहिलो तीन महिनामा २३ लाख ४१ हजार ६५५ किलो आयात भएकामा चालु आवको सोही अवधिमा घटेर १६ लाख ४० हजार ५५५ किलोमा सीमित भएको भन्सार कार्यालयले जनाएको छ।