गृहपृष्ठ हुम्लाका उत्कृष्ट तीन किसानलाई सम्मान
हुम्लाका उत्कृष्ट तीन किसानलाई सम्मान
कृषि विकास कार्यालयले जिल्लाका तीनजना उत्कृष्ट किसानलाई सम्मान गरेको छ । कर्णाली प्रदेश मुख्यमन्त्री उत्कृष्ट किसान कार्यक्रमअन्तर्गत आज राष्ट्रिय धान दिवसको अवसरमा नाम्खा गाउँपालिका–१ लामु तामाङ, चङ्खेली गाउँपालिकाका गोविन्द जैसी र छिरिङ लामालाई नगदसहित सम्मान गरिएको हो । तामाङलाई ४० हजार, जैसीलाई ३० हजार तथा छिरिङलाई २० हजार नगद र प्रमाणपत्रसहित सम्मान गरिएको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले जानकारी दिए उनीहरुलाई प्रमुख जिल्ला अधिकारी विनोदप्रसाद पोख्रेलले पुरस्कार वितरण गरेको थियो ।
प्रजिअ पोख्रेलले खाद्यान्न आपूर्तिका लागि हवाई मार्गबाट १८ करोड र सडक ढुवानीमार्फत २० करोड गरी ३८ करोडबराबरको खाद्यान्न आपूर्ति भएका उल्लेख गर्दै अब जिल्लामा उत्पादन बढाउन लाग्नुपर्ने आवश्यकता औँल्याए । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले यसवर्ष पानी र हिमपात नपर्दा स्थानीय किसानले रोपाइँ गर्न नपाएको बताए । कार्यक्रममा नाम्खा गाउँपालिकाका अध्यक्ष लामा, खार्पुनाथका कर्णबहादुर रावल, कृषि विकास कार्यालय प्रमुख बखत खड्कालगायतले भौगोलिक अवस्थाका आधारमा जिल्लामा स्याउ र ओखर उत्पादनमा प्राथमिकता दिन आवश्यक रहेको बताए।
प्रकाशित समय : १९:४३ बजे


















