बुधबार बसेको केन्द्रीय समिति बैठकमा यि हुन् रास्वपाले गरेका निर्णय
वि.सं.२०८० माघ ४ बिहीवार ०७:४२
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बुधबार बसेको केन्द्रीय समिति बैठकले विभिन्न ५ वटा निर्णय गरेको छ।
बैठकबाट पार्टीको आर्थिक नियमावली, प्रशासनिक नियमावली, विभागहरुको कार्य सञ्चालन नियमावली र तहगत समितिका पार्टी सदस्यले पालना गर्नुपर्ने आचारसंहिता पारित भएको हो।
यस्तै, केन्द्रीय सदस्य डा. प्रभात अधिकारीलाई नव प्रवर्तन तथा स्टार्टअप विभागको प्रमुखमा नियुक्त गरिएको छ।
पार्टी प्रवक्ता तथा महामन्त्री मुकुल ढकालका अनुसार केन्द्रीय विभागहरुलाई आफ्नो नियमित जिम्मेवारीसहित प्राथमिकतामा सम्पादन गर्नुपर्ने काम तोकिएको छ। त्यस्तै सहकारी र लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न नीतिगत उपाय र योजनाबारे अर्थ नीति विभागले तयार गरेको प्रारम्भिक प्रतिवेदनका मुख्य बुँदाहरु उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले बैठकमा जानकारी गराएका थिए । माघ १५ सम्म पूर्ण प्रतिवेदन तयार गरी पीडितको पक्षमा तुरुन्तै र आउँदो संसद् अधिवेशनमा रास्वपाले जोडदार आवाज उठाउने निर्णय पनि केन्द्रीय बैठकले गरेको छ।
यस्तै भौतिक विकासका रुग्ण र अलपत्र परेका आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन दबाबमूलक कार्यक्रम गर्ने निर्णय पनि बैठकले गरेको रास्वपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। त्यस्ता आयोजनाहरुबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारुप र मितिसमेत प्रस्ताव गर्न एक कार्यदल गठन गरिएको रास्वपाले जनाएको छ।
दबाब कार्यक्रम गर्ने सम्भावित आयोजनाः
—गल्छी–त्रिशुली– मैलुङ–स्याफ्रुबेंसी– रसुवागढी सडक (दुई खण्ड)
—मेलम्ची खानेपानी आयोजना
—११ किलो–छेपेटार–भालुस्वारा–वारपाक सडक टनकपुर लिंक रोड
—हुलाकी राजमार्ग (बेलौरी पचुई क्षेत्र)
—भेडेटार रबि राँके सडक
—कमला पुल
—जनकपुर परिक्रमा सडक
—कालिगण्डकी करिडरअन्तर्गत् म्याग्दी सडक खण्ड
—मध्यपहाडी लोकमार्ग अन्तर्गतको बुर्तिबाङ–बाग्लुङ सडक खण्ड
—मध्यपहाडी लोकमार्गअन्तर्गत् दैलेख खण्ड
—घोराही तुलसीपुरको सडक
—तिनकुनेस्थित बागमती पुल
—काठमाडौंग्वार्को फ्लाइओभर
—धनगढी–दिपायल फास्ट ट्रयाक
—काठमाडौं– मधेस द्रुतमार्ग
—चितवन नारायणगढ बजारको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको सडक
—घुमाउने पुल, सडक स्तरोन्नति (तनहुँ—चितवन)
—मकैसिंह पुल, गोर्खा
—नागढुंगा–मुग्लिन सडक स्तरोन्नति
—त्रियोगा पुल, उदयपुर
—धरहरा, काठमाडौँ
—भेरी बबई डाइभर्जन
—सिद्धबाबा सुरुङ मार्ग
—गौतमबुद्ध÷पोखरा विमानस्थल
—पासाङ ल्हामु राजमार्ग (काठमाडौं—त्रिशुली)
—दमौली—पोखरा सडकखण्ड

























