global ime bank Long Banner Ad

गृहपृष्ठ बेनीमा माघेसङ्क्रान्ति मेलाको तयारी तीव्र

बेनीमा माघेसङ्क्रान्ति मेलाको तयारी तीव्र

बेनीमा माघेसङ्क्रान्ति मेलाको तयारी तीव्र

म्याग्दी सदरमुकाम बेनीमा परम्परागतरूपमा हुँदै आएको माघे सङ्क्रान्ति मेलाको तयारी तीव्र पारिएको छ ।

म्याग्दी उद्योग वाणिज्य सङ्घअन्र्तगतको महिला उद्यम विकास समितिको आयोजनामा यही पुस २९ देखि आगामी माघ २ गतेसम्म सो मेला आयोजना गर्न लागिएको हो ।

माघे सङ्क्रान्तिमा आयोजना हुने मेलाको जगेर्ना हुनाका साथै कला, संस्कृति र परम्पराको संरक्षण तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित तीनदिने मेला आयोजना गरिएको महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले जानकारी दिइन् ।

मेलालाई सफल बनाउन विभिन्न २२ उपसमिति गठन गरिएको सो समितिले जनाएको छ । उद्योग वाणिज्य सङ्घ, जिल्लामा रहेका स्थानीय तह, सरकारी कार्यालय तथा विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा परम्परागत मेलालाई निरन्तरता दिन लागिएको अध्यक्ष श्रेष्ठले बताइन् ।

उनका अनुसार मेलामा कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको सहकार्यमा कृषि मेला पनि आयोजना गरिने भएको छ ।

मेलामा खुला नृत्य र आमाहरूको एकल लोकनृत्य प्रतियोगिता मुख्य आकर्षण रहने भएको छ । खुला नृत्यमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु २० हजार, रु १० हजार र रु पाँच हजार तथा आमाहरूको एकल लोकनृत्यमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु १० हजार, रु छ हजार र रु तीन हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

अन्धनिसान, महिला पुरुषको लठो तान्ने र छेलो फाल्नेलगायत प्रतियोगितासमेत मेलामा समावेश गरिएको महिला आयोजक समितिका महासचिव प्रमिला श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार मेलामा जिल्लामा रहेका विभिन्न जातजाति, सङ्घसंस्था र समूहको पहिचान झल्कने झाँकी पदर्शनीसहित स्थानीय र राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुतिसमेत रहनेछ ।

बेनीमा वर्षौँदेखि सञ्चालन हुँदै आएको यो मेलाको निरन्तरतासँगै कला र संस्कृतिको संरक्षण तथा व्यापार व्ययवसाय वृद्धिसँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

प्रकाशित समय : २०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु