गृहपृष्ठ सुलेमानीको चिहाननजिकै दुईवटा विस्फोट हुँदा ७३ जनाको मृत्यु
सुलेमानीको चिहाननजिकै दुईवटा विस्फोट हुँदा ७३ जनाको मृत्यु
बुधबार इरानमा रिभोल्युसनरी गार्डका जनरल कासिम सुलेमानीको वार्षिकी मनाउन जम्मा भएको भीडमा लगातार दुई वटा विस्फोट हुँदा कम्तीमा ७३ जनाको मृत्यु भएको छ । सन् २०२० मा सुलेमानीको हत्या भएको वार्षिकी मनाउन भेला भएको समूहलाई लक्षित गरी भएका विस्फोटमा परी ७३ जनाको मृत्यु भएको बीबीसीले जनाएको हो ।
विस्फोट दक्षिणी सहर केरमानस्थित साहेब अल–जमान मस्जिदमा इरानका रिभोल्युसनरी गार्डका विदेशी अभियान प्रमुख सुलेमानीको चिहान नजिकै भएको थियो । केही समयअघि मस्जिद नजिकै लगातार दुई वटा विस्फोटको सूचना प्राप्त भएको थियो ।
विस्फोटको कारणका बारेमा तत्काल कुनै जानकारी प्राप्त भएको छैन । सरकारी टेलिभिजनका तस्बिरहरूमा उक्त क्षेत्रमा धेरै एम्बुलेन्स र उद्धारकर्मी देखाइएको छ । बीबीसीका अनुसार विस्फोटमा १७१ जना घाइते भएका छन् ।
सुलेमानीले इरानको इस्लामिक रिभोल्युसनरी गाड्र्स कोर्प्सको विदेशी अपरेसन शाखा कुद्स फोर्सको नेतृत्व गरेका थिए । उक्त शाखाले मध्यपूर्वमा सैन्य कारबाहीहरूको निरीक्षण गर्थ्यो । उनी बगदाद विमानस्थलको ठिक बाहिर अमेरिकी ड्रोन हमलामा मारिएका थिए ।
प्रकाशित समय : २०:२६ बजे



















