चाडबार्डले बढायो आयातः व्यापार घाटा पनि वृद्धि
वि.सं.२०८० कात्तिक १३ सोमवार ०८:१६
shares

सुरुका दुई महिना कम भएको व्यापार घाटा चालु आर्थिक वर्षको तेस्रो महिनासँगै पुनः बढेको छ ।
आसन्न चाडबाडसँगै असोजमा आयात बढेपछि व्यापार घाटा वृद्धि भएको हो । चाडबाडलाई लक्ष्य गर्दै व्यवसायीले सामान भित्र्याएपछि आयात व्यापारमा बढोत्तरी भएको हो । चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन-असोज) मा ४ खर्ब ७ अर्ब ७५ करोडको आयात भएको भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यो रकम ०७९/०८० को पहिलो तीन महिनाको तुलनामा १.६९ प्रतिशतले बढी हो ।
गत वर्ष यही अवधिमा ४ खर्ब ९९ करोडको वस्तु आयात भएको थियो । साउन र भदौमा व्यापारको अवस्था हेर्दा आयात र निर्यात घटेको छ । व्यापार घाटा पनि कम छ । गत वर्षका पहिला दुई महिनामा २ खर्ब ७३ अर्ब ५९ करोडको आयात हुँदा चालु आर्थिक वर्षका पहिला दुई महिनामा २ खर्ब ५९ अर्ब ७४ करोड बराबरको वस्तु आयात भएको थियो । निर्यात रकम ७.७९ प्रतिशतले घटेर २६ अर्ब ४४ करोडमा पुगेको थियो । निर्यात रकम कम हुँदासमेत व्यापार घाटा ४.७४ प्रतिशतले घटेर २ खर्ब ३३ अर्ब ३० करोड थियो । साउनको तुलनामा पनि आयात, निर्यातसँगै व्यापार घाटा घटेको थियो । साउनमा आयात १.५६ प्र्रतिशतले घटेर १ खर्ब २९ अर्ब २३ करोड, निर्यात ८.६५ प्रतिशतले घटेर १३ अर्ब ५२ करोड र व्यापार घाटा ०.६६ प्रतिशतले घटेर १ खर्ब १५ अर्ब ७१ करोडमा सीमित थियो ।
तीन महिनामा आइपुग्दा आयातसँगै व्यापार घाटा पनि बढेको हो । वस्तुको आयात बढिरहँदा निर्यात व्यापार पनि निरन्तर घटेको छ, जसले व्यापार घाटा बढ्न मद्दत पुगेको छ । ३ महिनामा ४० अर्ब ८७ करोड रुपैयाँको वस्तु निर्यात भएको विभागको तथ्यांक छ । गत वर्ष यही अवधिमा ४१ अर्ब ८२ करोडको निर्यात भएको थियो । ३ महिनामा मुलुकको व्यापार घाटा २।१५ प्रतिशतले बढेर ३ अर्ब ६६ अर्ब ८८ करोड पुगेको छ । आर्थिक वर्ष ०७९र८० को पहिलो तीन महिनामा भने व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड थियो ।
वस्तुको आयात बढिरहँदा राजस्वमा वृद्धि भएको छ । आर्थिक वर्षका पहिला दुई महिना राजस्व संकलनमा खाडल परिरहँदा आयात वृद्धिसँगै राजस्व संकलनमा बढोत्तरी देखिएको हो । विभागका अनुसार असोजसम्म भन्सार राजस्व १ खर्ब ९ अर्ब २४ करोड नाघेको छ । तीन महिनामा सबैभन्दा धेरै डिजेल आयात भएको छ । यस अवधिमा सबैभन्दा धेरै २९ अर्ब ९२ करोड रुपैयाँ बराबरको २ लाख ६९ हजार ८ सय ७६ किलोलिटर डिजेल र १७ अर्ब १० करोड रुपैयाँ बराबरको १ लाख ६५ हजार ५ सय ९४ किलोलिटर पेट्रोल आयात भएको छ ।
खाना पकाउने एलपी ग्यास भने ११ अर्ब १० करोड रुपैयाँको आयात भएको विभागले जनाएको छ । अबौँ रुपैयाँका स्मार्टफोन, सुन, हवाई इन्धन, सनफ्लावरको कच्चा तेल र सोयाबिनको कच्चा तेल आयात भएको छ । तथ्यांकअनुसार ९ अर्ब ४३ करोडको स्मार्टफोन, ७ अर्ब ३५ करोडको सुन र ४ अर्ब ७० करोड रुपैयाँको हवाई इन्धन आयात भएको छ । स्वदेशमै उत्पादन बढाउन सकिने सनफ्लावरको कच्चा तेल आयातमा ४ अर्ब ४८ करोड र सोयाबिनको कच्चा तेल आयातमा ४ अर्ब ४३ करोड रुपैयाँ बाहिरिएको छ । आयातित कच्चा तेल व्यवसायीले रिफाइन गरेर पुनः भारत पठाउँदै आएका छन् ।
खर्बौं रुपैयाँ बराबरको वस्तु आयात हुँदा निर्यात भने ११ वस्तुको मात्र भएको छ । त्यो पनि अर्ब रुपैयाँ बराबरको । सरकारले घोषणा गरेका तुलनात्मक लाभका वस्तुबाट पनि पर्याप्त फाइदा लिन सकिएको छैन । जानकारका अनुसार स्वदेशी उत्पादनको माग विदेशमा राम्रो भए पनि गुणस्तरीय उत्पादन दिन सकिएको छैन । निर्यातका क्रममा प्रयोगशालाकै समस्या छ । जसले गर्दा निर्यात बढाउन नसकिएको हो ।
निर्यात भएका वस्तुमध्ये सबैभन्दा धेरै कार्पेट २ अर्ब ९३ करोड रुपैयाँ बराबरको भएको छ । १ अर्ब ९५ करोडको स्टिल तथा आइरन, १ अर्ब ८९ करोडको अलैंची, १ अर्ब ६० करोडको जुस, १ अर्ब ५१ करोडको फेल्ट र १ अर्ब १९ करोडको चिया निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।

























