एयरलाइन्सको मनोमानी : दुर्गमका यात्रु सधैं अलपत्र
वि.सं.२०८० असोज ३० मंगलवार १४:००
shares
जतिसुकै लुटेर सम्पत्ति थुपारेपनि खाने भात हो, जाने घाट हो । तर विमानस्थलमा शिशु च्यापेर टिकट खोजिरहेका सुत्केरी आमाहरुको रोदनलाई सुन्दा यो देश साँच्चिकै हुनेखानेहरुका लागि मात्रै हो भन्ने पुष्टि हुन्छ । हुँदा खाने र जोहो गरि विमान चढ्नेहरुका लागि पटकपटक एयरलाइन्स कम्पनीको बद्मासीले रुवाउने गरेको छ । १८ दिनको शिशु च्यापेर नेपालगञ्ज विमानस्थलमा छटपटाइरहेकी टिका शाहसँग जहाजको टिकट छैन । रुकुम पूर्वकी टिका टिकट पाइहाल्छ कि भन्दै विमानस्थलमा यता उता गरिरहेकी छिन् । जिल्लामा सुविधासम्पन्न अस्पताल नभएपछि उनी सुत्केरी गराउन नेपालगञ्ज झरेकी थिइन । दशैं मुखमा छ, तर घर पुग्ने टुंगो छैन ।
टिकटले सबैभन्दा धेरै दूर्गमका बासिन्दाहरुलाई पिरोल्ने गरेको छ । आफ्नै जिल्लामा विमानस्थल छ । जहाज पनि उड्ने गर्छ । सडक सञ्जालको अवस्था नाजुक र डरलाग्दो छ । चाडबाडकै बेला सवारी दुर्घटना धेरै हुन्छन् । सुत्केरी भएर थलिएका आमाहरु सहजताका लागि जहाज चढ्न खोज्छन् । तर टिकट नै नपाउने समस्या छ । पूर्वी रुकुमको पुथा उत्तरगंगा–८ कि निशा सेन बोहरा पनि नेपालगञ्ज विमानस्थलमै जहाज पर्खिरहेकी छन् । जुम्ल्याहा छोरीहरुलाई जन्मदिएकी उनले जहाजको टिकट पर्खिएर होटलमा बस्न थालेकै झण्डै एकमहिना भइसक्यो । घर फर्किन टिकट खोज्दै विमानस्थल पुगिन् । तर एयरलाईन्स कम्पनीले टिकट छैन, जान मिल्दैन भन्दै फर्काईदिए ।
आखिर यो सब किन भइरहेको छ त ? किनकि जहाजको टिकट सर्वसाधारणको पहुँचभन्दा बाहिर छ । अर्थात् टिकट किन्न पनि सेटिङ मिलाउनुपर्छ । कमिशन दिनुपर्छ । राजनीतिक दलका नेतादेखि विचौलियासँग भनसुन गर्नुपर्छ । हुम्लाको खर्पुनाथ गाउँपालिका–४ का विष्णुबहादुर शाही भन्छन्, ‘विमानस्थल छिर्दै गर्दा हातमा टिकट बोकेर छिर्ने दिन कहिले आउँला ?’
तर सर्वसाधारणलाई टिकट नदिने यीनै एयरलाइन्सहरुले विदेशी टोली आउँदा दिनमै ५ वटासम्म चार्टर उडान गर्छन् । सर्वसाधारणलाई एउटा सिट पनि दिँदैनन् । नेपाल वायुसेवा निगमले निकै कम उडान गर्छ । निजी एयरलाइन्सहरुको असुली धन्दा मान्छेका अनुहारै पिच्छे फरक छ । यसमा सबैभन्दा ठूलो बद्मासी सरकारी ध्वजाबाहक नेपाल एयरलाइन्सकै देखिन्छ । किनकि निगमका जहाजको उडान एकदमै धेरै स्थगित हुन्छ । त्यसका पछाडी निजी क्षेत्रसँग सेटिङ रहेको यात्रुहरुको आरोप छ । अर्थात् निजीसँग कमिशन खाएर सरकारी ध्वजाबाहक जहाजले आफ्नो उडाननै रद्द गर्ने गरेका छन् । निजी एयरलाइन्स पनि चार्टर भए कुदिहाल्छन् । नियमित उडानको समय आउँदा मौसम प्रतिकुलतालाई बाहना बनाउँछन् । फलतः सडक सञ्जालको पहुँचमा नभएका सुदूरपश्चिम र कर्णालीका अधिकांश ठाउँमा जनताहरुलाई हवाइ यात्राले सास्तीमात्रै दिएको छ ।
तर यति हुँदा पनि विभागिय मन्त्री अनेक तानाबाना बुनेर समस्याबाट भागिरहेका छन् । किराँतीलाई काठमाडौं विमानस्थलको वरिपरी दुई चार क्यामेरा बोकेर स्टन्ट देखाउनै ठिक्क छन् । जनताका समस्याको तत्काल समाधान खोज्न सकिँदैन भने नाटक गर्न विमानस्थल पुग्नुको अर्थ पनि केही छैन । किनकि मन्त्री मातहातकै नागरिक उड्डयन प्राधिकरणले दूर्गमका विमानस्थलमा उडानको समय तोकेर अर्काे तनाव थपिदिएको थियो । अर्थात् १२ बजे पछिमात्रै उडान गर्ने नियम लगायो । बिहान हुस्सुले उडान नहुने, दिउँसो हावा चल्दा नहुने भएपछि महिनौंसम्म दुर्गमका नागरिक हवाई सेवाबाट बञ्चित बने । फलतः मन्त्री किराँतीकै पालामा भइरहेका अनेक नाटकहरुलाई अहिले बजारमा स्टन्टको नाम दिइएको हो ।

























