३ वटा चार्टर्ड उडानबाट भियतनामका पर्यटक नेपाल आउँदै
वि.सं.२०८० असोज २८ आइतवार २०:१४
shares

नेपालको पर्यटन इतिहासमा पहिलो पटक भियतनामबाट एकै खेपमा ठूलो संख्यामा पर्यटक नेपाल आउने भएका छन् ।
तीन दिन जहाज चार्टर्ड गरी एकै पटक ठूलो संख्यामा भियतनामी पर्यटक नेपाल आउन लागेको यो भ्रमणको व्यवस्थापन गरिरहेको कम्पनी रुप्से होलिडेजले जानकारी दिएको छ । कम्पनीका प्रबन्ध निर्देशक रमेश पराजुलीका अनुसार तीन वटा विमान चार्टर गरेर भियतनामी पर्यटकले आगामी सता नेपाल भ्रमण गर्ने भएका हुन् ।
आगामी अक्टुबर २१, २५ र २९ मा हिमालय एयरलाइन्सको एयरबस ए३२० विमान चार्टर गरेर भियतनामबाट पर्यटक नेपाल आउने भएका हुन् । यी पर्यटकले काठमाडौं, पोखरा, लुम्बिनीलगायत स्थानको भ्रमण गर्ने कम्पनीले जनाएको छ । यो टोलीमा खर्चालु पर्यटकको ठूलो संख्या रहेको र यसले नेपाललाई खर्चालु पर्यटकको गन्तव्य बनाउन सहयोग पुग्ने अपेक्षा लिइएको कम्पनीले जनाएको छ ।

























