गृहपृष्ठ सधैं झमेलामा रास्वपा
सधैं झमेलामा रास्वपा

वैकल्पिक भनेर उदाएको रास्वपा एकपछि अर्को गर्दै विवादको भूमरीमा लपेटिएको छ । पार्टीमा हुने विवादको टालटुले समाधानले थप संकट उत्पन्न गरेपछि पुराना दलभन्दा एक कदममाथि उठेर विश्वसनीयता कायम गर्दै पारदर्शिता कायम गर्नुपर्ने पार्टी झन् तल झर्दा हिजो चुनौति सम्झिएका दलहरु नै अहिले रास्वपाप्रति व्यंग्य गरिरहेका छन् ।
जन्मिँदै विवादित भएर राजनीतिमा आएको पार्टी आजसम्म पनि विवादरहित हुन सकेको छैन । पार्टीको न्वारान गर्दै चुनाव चिह्न र नाम नै आयातित भन्दै विवाद खेपेको रास्वपाले समस्याको टालटुले समाधान निकाले पनि यो उल्झनबाट पार पाएको छैन ।
व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडियो सार्वजनिक भएपछि रास्वपाबाट समानुपातिक सांसद बनेका डा. ढाकाकुमार श्रेष्ठलाई पार्टीकै अनुसन्धान समितिले छानविन गरेको थियो । अनुसन्धान समितिले बुझाएको प्रतिवेदनलाई आधार मान्दै केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरि सांसद पदबाट पनि निलम्बन गर्यो । तर अहिले फेरि ढाकाकाण्ड बल्झिएको छ ।
ढाकाले कोरटीमको नाम खोलेपछि यसले रास्वपाको सुशासनमा सांकेतिक घन्टी बजाएको छ । ढाकाले रास्वपाको कोरटीममा मोहनजंग थापा रहेको भन्दै मन्त्री बन्नका लागि तीन करोड मागेको खुलासा गरेपछि पार्टीभित्रै खैलाबैला सुरु भएको छ । यसअघि नै श्रेष्ठको विषयमा टालटुले समाधान खोजेर टारेको पार्टीले अहिले फेरि निलम्बित ढाकाले अरु कसैलाई डामेपछि अनुसन्धान थालेको छ ।
पार्टीका सांसदहरु विवादित हुँदै गर्दा सभापति लामिछानेलाई झन् विवादकै पर्यायभन्दा फरक पर्दैन । पहिला नागरिकता र राहादानीलाई लिएर विवादमा परेका उनी त्यसमा अदालतबाट क्लिनचिट पाईसक्दा पनि विवादले उनलाई छोडेको छैन । उपनिर्वाचनताका आफ्नै चालक डिलबहादुर थापा (शम्भु)को छतबाट खसेर मृत्यु भएको थियो । तर चारमहिना बितिसक्दा पनि अझै सत्यतथ्य पत्ता लागाएर बाहिर ल्याउन नसकेको भन्दै उनको र पार्टीको आलोचना भइरहेको छ । शोकलाई चुनावी मसला नबनाउन र मृत्युलाई राजनीतिकरण नगर्न आग्रह गर्दै सत्यतथ्य बाहिर ल्याउने भनेका उनले सदन छिरेको ६ महिना बितिसक्दा पनि त्यससम्बन्धी कुनै आवाज उठाएको सुनिएको छैन ।
रास्वपामा स्वर्णिम वाग्ले जस्ता व्यक्तिलाई पार्टी प्रवेश गराई सांसदसमेत बनाउँदा पनि उनी न सडकमा देखिन्छन्, न सदनमा आवाज नै मुखरित गर्न सकिरहेका छन् । बरु आर्थिकभार कम गर्न नेपाली सेना हटाउनुपर्ने अभिव्यक्ति दिएपछि विवादमा परे ।
वैकल्पिक शक्ति बनेर उदाएको रास्वपा स्थापनाको एक वर्ष बितिसक्दा पनि विचार र सिद्धान्तहिनको बाटोमै छ । असार ७ गते पार्टी स्थापनाकै अवसरमा पार्टीले ‘नयाँ युगको संकल्प’ भन्दै ६८ पृष्ठको राजनीतिक सैद्धान्तिक दस्तावेज सार्वजनिक गर्ने तयारी गरेपनि प्रदेशलगायत शासकीय संरचना जस्ता महत्वपूर्ण मुद्धामा पार्टीका नेताहरुले असन्तुष्ट जनाएपछि नजिक आइसकेको रास्वपाको राजनैतिक विचार यसै थाति रह्यो । पार्टीले राजनीति कार्यदिशा सहितको मस्यौदालाई अन्तिमरूप दिन भदौको पहिलो साता दस्तावेज बुझाउने गरि विचार विभाग प्रमुख डा. मुकुल ढकालको संयोजकत्वमा १७ सदस्यीय कार्यदल बनाएको भए पनि भदौको मसान्तसम्म आइसक्दा पनि त्यसले अन्तिम रुप पाउन सकेको छैन ।
पार्टी जीवन्त भएपछि विवाद आउनु वा हुनु कुनै नौलो कुरो होइन । तर विवादको समाधान दिनुको सट्टा टालटुले जवाफले केश रफादफा गर्न खोज्दा त्यसले थप विवाद उत्पन्न गर्छ । आफ्नै चालकलाई न्याय दिन नसक्ने पार्टी नेतृत्वले आम नागरिकलाई न्याय दिन्छन् भन्नेमा झट्ट विश्वास गरी हाल्ने ठाउँ छैन । निर्वाचनमा उभार लिएर आएको पार्टी विवादको भुमरीमै लपेटिएर अल्मिलिदा जनताको आशामा तुषारापात नहोस् ।
प्रकाशित समय : ०९:०० बजे