एनआरएनलाई सेयर बजारमा ल्याउन विदेशी लगानी ऐन संशोधन गर्नुपर्ने समितिको सुझाव
वि.सं.२०८० भदौ २१ बिहीवार १३:४१
shares

गैर आवासीय नेपालीहरूले नेपालको दोस्रो बजारमा कारोबार गर्नका लागि छुट्टै बैङ्क खाता खोल्ने व्यवस्था गर्नुपर्ने भएको छ ।नेपाल धितोपत्र बोर्डले तयार पारेको गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानीका लागि बाटो खुल्ला गर्न अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको हो ।
समितिले एनआरएनलाई भित्र्याउन गर्नुपर्ने नीतिगत परिवर्तन, राष्ट्र बैङ्क, धितोपत्र बोडले गर्नुपर्ने काम तथा प्रक्रियागत सुझावलाई समेटेर प्रतिवेदन तयार गरेको हो । राष्ट्र बैङ्कले गैर आवासीय नेपालीहरूलाई दोस्रो बजारमा कारोबार गर्नको लागि अलग्गै बैङ्क खाता खोल्ने सक्ने व्यवस्था गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, गैर आवासीय नेपालीले धितोपत्र बजारमा गर्ने लगानी र रकम फिर्ता लैजाने सम्बन्धमा स्पष्ट र सहज हुने गरी छुट्टै निर्देशन जारी गर्नुपर्ने, धितोपत्र बोर्डले गैर आवासीय नेपालीले डिम्याट खाता खोल्ने प्रक्रियामा डिजिटल माध्यमबाट समेत खाता खोल्न सकिने व्यवस्था लागू गर्ने प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरि गैर आवासीय नेपालीले खरिद गर्न सक्ने–लगानी गर्न पाउने धितोपत्ररक्षेत्ररसङ्ख्यारलगानीको सीमा रकम–अवधि सम्बन्धी व्यवस्थाका लागि बोर्डले अलग्गै नियमावली तर्जुमा गर्नुपर्ने उल्लेख छ । अध्ययन समितिले दुवै नियामक निकाय नेपाल राष्ट्र बैङ्क र नेपाल धितोपत्र बोर्डले गर्नुपर्ने काम कारबाही लागि विभिन्न सुझाव समेत दिइएको छ ।
यसका लागि राष्ट्र बैङ्कले गैर आवासीय नेपालीलाई धितोपत्र बजारमा लगानी गर्नका लागि सहजीकरण गरिदिन संरक्षक सदस्य बैङ्कको व्यवस्था गर्न सकिने गरी नीतिगतरुपमा नै व्यवस्था गर्नुपर्ने, धितो पत्रमा लगानी गर्ने प्रयोजनका लागि तोकिएको संरक्षक सदस्य बैङ्कमा गैर आवासीय नेपालीले अलग्गै बैङ्क खाता खोल्न सक्ने व्यवस्था गरिदिने, लगानी र रकम फिर्ता लैजाने सम्बन्धमा स्पष्ट र सहज हुने गरी छुट्टै निर्देशन–नियमन, कार्यविधि जारी गर्ने गर्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख छ ।
यसका साथै गैर आवासीय नेपालीले संरक्षक सदस्य बैङ्कमा विदेशी मुद्रा खाता खोल्ने र रेमिटयान्स मार्फत विदेशी मुद्रा जम्मा गर्न सक्ने, सदस्य बैङ्कहरूले गैर आवासीय नेपालीहरूलाई उक्त विदेशी मुद्रा खातामा रहने कुल मौज्दातलाई सुरक्षणको रूपमा राखी सोको प्रचलित विनियमय दरले हुने रकमको बढीमा ९० प्रतिशतसम्म नेपाली मुद्रामा कर्जा प्रदान गर्न सक्ने र गैर आवासीय नेपालीहरूले सो नेपाली मुद्रामा लिएको कर्जा रकमबाट धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सक्ने, सदस्य बैङ्कबाट लिएको कर्जाको राफसाफ गरेपश्चात् रेमिटयान्स मार्फत ल्याएको जति रकम वा विदेशी मुद्रा खातामा जम्मा रहेको मौज्दात चाहेको बखतमा विप्रेषण गर्न सक्ने गरी आवश्यक व्यवस्था तोकिदिन सक्ने, यसबाट गैर आवासीय नेपालीलाई नेपाली धितोपत्र बजारमा लगानीको लागि आकर्षित गर्न सकिने र जसका माध्यमबाट विदेशी मुद्रा नेपाल भित्र्याउन तथा धितोपत्र बजार मार्फत पुँजी निर्माण तथा परिचालन गर्न सहज भई समग्र अर्थतन्त्रलाई नै सकारात्मक योगदान पुग्न सक्ने अध्ययन समितिको प्रतिवदनमा उल्लेख छ ।

























