global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ हङकङमा सेटिङ मिलाएर भैरहवाको पाँचतारे रिसोर्ट खरिद, सार्वजनिक जग्गा मिचेर सञ्चालन

हङकङमा सेटिङ मिलाएर भैरहवाको पाँचतारे रिसोर्ट खरिद, सार्वजनिक जग्गा मिचेर सञ्चालन

हङकङमा सेटिङ मिलाएर भैरहवाको पाँचतारे रिसोर्ट खरिद, सार्वजनिक जग्गा मिचेर सञ्चालन

हङकङमा ६० किलो सुनको सेटिङ हुँदै गर्दा गैरआवासीय नेपालीहरुको एउटा समूहले सुनकै जस्तो सेटिङ हङकङमै बसेर पाँचतारे होटल खरिदमा गरेको तथ्य सार्वजनिक भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य, संघका अमेरिका अध्यक्ष बुद्धिसागर सुवेदी, क्यानडा अध्यक्ष दीपक गौतम, बेद भुसाल र रामजी मरासिनी लगायतको समूहले हङकङमै सेटिङ मिलाएर भैरहवास्थित टाइगर प्यालेस रिसोर्ट खरिद गरेपछि अहिले अख्तियारले छानबिन सुरु गरेको छ । उनीहरुले ‘एनसेलकै स्टाइल’मा लाभकर लगायतका विषय छल्न भैरहवाको होटल हङकङमा किनबेच गरेका थिए । सोही विषय बाहिरिएपछि सरकार र अख्तियारले छानबिन सुरु गरेको हो ।

२०७४ सालमा झण्डै तीन करोड ६० लाख अमेरिकी डलर बराबरको विदेशी लगानी ल्याएर अस्ट्रेलियन बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेजले टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा ल्याएको थियो । रिसोर्ट र क्यासिनो सञ्चालनमा आएपछि झण्डै एक हजारले रोजगारी पाएका थिए । तर रिसोर्ट खोल्नु र कोभिड महामारी सुरु हुनु एकै समयमा भएपछि कम्पनी घाटामा गयो । लगानीकर्ताबीच नै विवाद भएपछि यो पाँचतारे होटल बन्द हुने अवस्थामा पुग्यो । झण्डै पाँच अर्ब नेपाली रुपैयाँ लगानी गरिएको यो रिसोर्टले महिनामै करोडौंको नोक्सानी ब्यहोरेपछि सञ्चालकले विगत केहीबर्षदेखि होटल बिक्रि गर्न खोजिरहेका थिए । ठ्याक्कै त्यही बेला गैरआवासीय नेपालीहरुको टोली लगानी गर्न जुटेको हो । तर सार्वजनिक जग्गा मिचेर बनेको यो रिसोर्टलाई चलाउन पहिले केही विवादहरुलाई सल्टाउनुपर्ने थियो । उल्टो बाटोमा हिडेका गैरआवासीयहरुसँग पैसा त भयो, तर गैरकानुनी बाटोमा हिड्न खोजेका उनीहरु लाभकर बुझाउने दायित्वबाट पन्छिन् खोजेपछि अर्को झन्झटमा फसेका छन्।

सिल्भर हेरिटेज ग्रुप अस्ट्रेलियन नागरिक माइक बोल्सोभर मुख्य सञ्चालक रहेको कम्पनी हो । उनीसँग केही नेपाली साझेदार पनि थिए । हङकङमा दर्ता रहेको यो कम्पनीसँग अहिले बुद्धिसागर सुवेदी अध्यक्ष रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले सबै सेयर स्वामित्व खरिद गरेको छ । जो अमेरिकामा स्थापना गरिएको लगानीकर्ता कम्पनी हो । १५ मिलियन डलर अर्थात झण्डै दुई अर्ब नेपाली रुपैयाँमा गैरआवासीय नेपालीहरुले होटल खरिद गरेका हुन् । उनीहरुले नेपालका बैंकहरुलाई तिर्नुपर्ने करिब सवा दुई अर्ब ऋण र सरकारलाई तिनुपर्ने कर सहितका अन्य दायित्व पनि तिरेका छैनन् । कतै सेटिङकै आधारमा गुपचुपमै मिलाईन्छ कि भन्ने शंका पनि छ । यद्यपी विषय सतहमा आएर आलोचना बढेपछि अहिलेको सञ्चालक समुहले खरिद–बिक्रीको सम्पूर्ण डिल विदेशमा गरिए पनि नेपालको कानुनअनुसार सरकारलाई बुझाउर्ने कर तिर्न तयार रहेको जनाएको छ ।

यो विषयमा छानबिन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि गत जेठ २२ मै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरि सिल्भर हेरिटेजसँग सम्बन्धित उजुरीका सम्बन्धमा के कसो भएको हो छानबिन वा आवश्यक कारबाही गरि यथासिघ्र जानकारी गराउन अनुरोध गरेको थियो । किनकि नेपाल बाहिर किनबेच गरि आयकर छली गर्ने अभिप्राय देखिएको भन्दै होटल किनबेच र रकम रोक्का गर्न उजुरी परेको थियो । हदबन्दीभन्दा बढी जग्गा र सम्पत्ति देखिएको भन्दै मालपोत कार्यालयले गत जेठ पहिलो साता सबै जग्गा रोक्का गरिएको जाकारी पनि दिएको थियो ।

तर अर्को गम्भीर विषय, रिसोर्टले सार्वजनिक जग्गा कब्जा गरि संरचना निर्माण गरेको छ । राजकुलो र सार्वजनिक कुलो मिचेर रिसोर्ट बनाएपछि स्थानीयले विरोध गरेका थिए । त्यसलाई खाली गरि जग्गा पुनः सार्वजनिक प्रयोगमा ल्याउन माग गर्दै स्थानीयले अदालतमा मुद्दासमेत दायर गरेका छन् । तर सञ्चालकले रिसोर्टले सार्वजनिक जग्गा हडपेको विषयमा निर्माण अगाबै सरकारी जग्गा कुलो नहर वापत १६ कठ्ठा जग्गा रिसोर्टको तर्फबाट सट्टाभर्ना गरी दिएको दाबी गरेको छ ।

रिसोर्ट साढे १२ सय कठ्ठामा फैलिएको छ । जसबाफत बार्षिक रुपमा उसले मात्रै दुई लाख स्थानीय तिलोत्तमा नगरपालिकालाई तिर्दै आएको छ । साढे १२ सय कठ्ठा भनेको एउटा सिंगै गाउँको क्षेत्रफल हो । राजकुलो नै मिचेर संरचना बनाउनु र तारबार गर्नु भनेको सामान्य विषय होइन । स्थानीय तिलोत्तमा नगरपालिकाका मेयरमा पनि राजकुलोसहित सार्वजनिक जग्गा मिचिएको बारे जानकार छन् । तर उनले केही गर्न सकिरहेका छैनन । विषयमा उजुरी परेपछि जिल्ला अदालत रुपन्देहीले संरचना हटाउन आदेश दिएको थियो । तर अदालतको आदेश आफुसम्म आइनपुगेको भन्दै नगरप्रमुख चुप बसेको बताउँछन् । ‘त्यहाँ राजकुलो र सार्वजनिक कुलो छ ।’, मेयर रामकृष्ण खाणले भने, ‘तर त्यसबाफत पहिले नै जग्गा सट्टाभर्ना गरिएको भएपनि मलाई धेरै जानकारी छैन । अदालतले पनि आदेश दिएको थियो । तर हामी कहाँ आएपो कार्यान्वयन गर्नु ।’

अर्को विवादित विषय, रिसोर्टले सार्वजनिक मन्दिरलाई आफ्नो कम्पाण्डभित्र घेराबार गरी स्थानीयलाई प्रवेश निषेध गरेको आरोपसमेत छ । तिलोत्तम नगरपालिका १७ मा अवस्थित झण्डै २ सय बर्ष पुरानो बाउन्नकोटी देवीको मन्दिर केही समयदेखि रिसोर्टले आफ्नो घेराभित्र राखेर तारबार गरेको छ । यस विषयमा पनि मेयर जानकार छन् । तर पाँचतारेले स्थानीयलाई पुजापाठमै निषेध गरिसक्दासमेत सबका सब चुप छन् ।

रिसोर्टको नयाँ व्यवस्थापनका रुपमा गैरआवासीय नेपाली संघका जिम्मेवार प्रतिनिधि सामेल छन् । त्यसमा केही विवादित पात्र पनि जोडिएका छन् । एउटा खल्तीमा बेलायती र अर्को खल्तीमा नेपाली नागरिक र राहदानी बोक्ने संघका अध्यक्ष कुल आचार्य पनि यसका मुख्य लगानीकर्ता हुन् । उनीविरुद्ध अहिले गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहा मगरले दोहोरो नागरिकता र राहदानीको कसुरमा मन्त्रालयमा उजुरी हालेका छन् । रिसोर्ट किन्दा कुन नागरिकता देखाएर किने जानकारीमा छैन ।

बाध्यताबस् वा रहरले विदेशमा बसेर विदेशकै नागरिकता लिएका गैरआवासीय नेपालीहरु सकभर नेपालमा लगानी भित्र्याउन चाहन्छन् । सकेसम्म विदेशी दाता, नसके आफैसँग भएको पुँजी लगाएरै नेपालमा लगानी गर्ने उनीहरुको सोच नेपालको समृद्धिको एक हिस्सा हो । तर कानुनभन्दा बाहिर गएर कर छल्न खोज्ने वा केही कमिशन बुझाएर राज्यलाई दिनुपर्ने दायित्वसमेत नदिएर मुद्दा मामिलाको सिकार बन्नु परेपछि उनीहरु आलोचित पनि बन्नु परेको छ । टाइगर प्यालेस जस्ता ‘फाइभ स्टार’ होटल सयौंको संख्यामा खुल्नपर्छ । उनीहरुले नाफा कमाउन पनि पाउनुपर्छ । तर सयौं रोपनी जग्गा कब्जा गरि सरकारी र सार्वजनिक जग्गा नै रिसोर्टभित्र दबाईदिने काम सही होइन । त्यो भन्दा गम्भीर विषय त रिसोर्टले धार्मिक आस्थामाथि नै बन्देज लगाउने काम गरेको आरोप छ । स्थानीयहरुले पुजापाठ गरिरहेको मन्दिरलाई तारबारभित्र राखेर निषेध गर्ने काम गरिएको हो भने यो स्थानीयको भावनामाथिको प्रहार हो ।

प्रकाशित समय : १४:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु