एसोसिएसन नेपालको आयोजनामा विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता हुने
वि.सं.२०८० भदौ १५ शुक्रवार १३:१९
shares

एसोसिएसन नेपाल काठमाडौंले उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता २०८० गर्ने भएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एसोसिएसन नेपाल काठमाडौंले भदौ १८ गते नेपाल प्रज्ञा भवन, कमलादीमा विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता गर्न लागेको बताएको हो।
विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि शैक्षिक क्षेत्रमा सकृय राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल काठमाडौंद्वारा विभिन्न जातजाति भाषा, धर्म, संस्कृति र रीतिरिवाजसँग सम्बन्धित मौलिक संस्कृतिको संवर्द्धन गर्ने उद्देश्यले विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता गर्न लागेको बताएको हो। लोकनृत्य प्रतियोगितामा प्रत्येक विद्यालयले प्रवेश शुल्क रु ५ हजार तिरि भाग लिन सक्नेछन् ।
विद्यालयहरुले प्रतियोगितामा कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई राखी कम्तिमा ८ देखि २४ जनाको समूह बनाई बढीमा ५ मिनेट भित्र आफ्नो नृत्य प्रस्तुत गर्न सक्दछन ।
विद्यालयको भन्दा बाहिरी विद्यार्थीहरु अथवा बाहिरी कलाकारहरुलाई प्रतियोगितामा सामेल गराइने छैन ।
सहभागी विद्यालयहरुले प्रतियोगितामा आफ्नो नाम दर्ता गर्दा प्रतियोगि छात्र छात्राको फोटो, विद्यालय परिचयपत्रको फोटोकपी अनिवार्य रुपमा दर्ता फारम सहित २०८० भाद्र १३ गतेभित्र बुझाई सक्नु पर्नेछ । प्रप्रतियोगितामा ७५ विद्यालयहरुको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रस्तुत हुने नृत्य र गीत संगीत नेपाली लोककला, रीतिरिवाज साथै सम्बन्धित संस्कृतिको मौलिकता झल्कने नृत्यलाई मात्र सहभागी गराईने छ।
कुनै पनि रिमिक्स भर्सनमा भएको गीतलाई मान्यता दिइनेछैन । चर्या नृत्यको आफ्नै मौलिकता रहेकोले प्रतियोगितामा समावेश गराइने छैन । प्रत्येक सहभागीलाई बढीमा ५ मिनेटको समय दिइने भएकोले उक्त समय उद्घोषकले उदघोषण गरेपश्चात सुरु हुनेछ । मौलिक संस्कृति झल्कने खालको नृत्य नै प्रतियोगिता केन्द्रित रहेको हुँदा बाहिरी सजावट र नाटकीय प्रस्तुति मूल्याङ्कनमा पर्ने छैनन् ।
प्रतियोगिताका लागि आवश्यक सामग्री सहभागी विद्यालयले व्यवस्था गर्नु पर्नेछ । सहभागी विद्यालयले नृत्यको विवरण अनिवार्य रुपमा प्रिन्टेट पानामा लिपिबद्ध गरी लेखेर दर्ता फारम सँगै बुझाउनुपर्ने छ । जुन नृत्यको विवरण कार्यक्रम प्रस्तोताले मात्र उद्घोष गर्ने छ । विद्यालयलाई छुट्टै उद्घोष गर्न दिइनेछैन । प्रतियोगिता सुरु हुनु ३० मिनेट अगावै प्रतियोगी प्रतियोगिता स्थलमा आइसक्नु पर्नेछ । उक्त समयमा हरेक प्रतियोगी विद्यार्थी परिचयपत्र सहित उपस्थित हुनुपर्ने छ ।
प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुनेले क्रमसः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।

























