चितवनमा एकैपटक ८ सवारी ठोक्किए, २० जना घाइते (तस्विरहरु)
वि.सं.२०८० साउन ३१ बुधवार १५:०२
shares

भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा सवारी दुर्घटना भएको छ ।
महेन्द्र राजमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा अक्स्फोर्ड कलेजको बस, शव बोकेको गाडी, स्कुटर, बलोरो र मोटरसाइकल एक९आपसमा ठोक्किएको हो । ठोक्किएका सवारीमा मोटरसाइकल र स्कुटरको संख्या धेरै छ ।
व्यस्त राजमार्गमा प्राय सबै सवारी तीव्र गतिमा भएकाले एकैपटक धेरै ठोक्किएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर ९ मा पर्ने टिकौली जङ्गलमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना। १ क ६१३१ नम्बरको अक्सफोड कलेजको बसले विपरीत दिशाबाट आँदै गरेको ना। २ च ८४४६ नम्बरकोको शव बोकेर देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको थियो । दुर्घटनामा २० जना घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते हुनेहरुमा चितवनको खैरहनी नगरपालिका ४ का अन्दाजी ६० वर्षीय कृष्ण बहादुर तामाङ, खैरहनी–१ का ८२ वर्षीय जितबहादुर तामाङ, रत्ननगर नगरपालिका–१४ का कुसुमबहादुर राना, रत्ननगर–९ का किशोर तामाङ, रत्ननगर–१४ का डोलबहादुर कार्की र ३८ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् ।

सोही दुर्घटनामा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ का महोन तामाङको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यसैगरी १२ जना घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

यसैगरी नवलपुरको गैंडाकोट नगरपालिका–८ का ५१ वर्षीय लोकराज लामा, ३६ वर्षीय दिवेश शाक्य रत्ननगर–१४ का ५० वर्षीय आइतराम कामी, रत्ननगर–३ का ४४ वर्षीय गोपाल तामाङ, रत्ननगर–१४ का २६ वर्षीय पुष्प तामाङ, सोही ठाउँका ३८ वर्षीय कृष्ण लामा र रत्ननगर–३ का ४५ वर्षीय जीवन लामाको अवस्था पनि मध्यम छ ।






























