गृहपृष्ठ पाकिस्तानको कार्यवाहक प्रधानमन्त्री बने अनवर उल हक काकर

पाकिस्तानको कार्यवाहक प्रधानमन्त्री बने अनवर उल हक काकर

पाकिस्तानको कार्यवाहक प्रधानमन्त्री बने अनवर उल हक काकर

पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर उल हक काकर चयन भएका छन् । आम निर्वाचन अब उनकै नेतृत्वमा हुनेछ । प्रधानमन्त्री शहबाज शरिफ नेतृत्वको मन्त्रिपरिषदले संसद विघटनको निर्णय गरेपछि विपक्षी दलसमेतको सहमतिमा अनवर कार्यवाहक प्रधानमन्त्री बनेका हुन् ।

कार्यवाहक प्रधानमन्त्री चयनको विषयमा निवर्तमान प्रधानमन्त्री शहबाज शरिफ र विपक्षी दलका नेता राजा रियाजबीच शनिबार छलफल भएको थियो । सोही छलफलपछि अनवरको नाममा सहमति जुटेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

पाकिस्तान सरकारको सिफारिसमा राष्ट्रपति आरिफ अल्बीले गत बुधबार मध्यराति संसद विघटनलाई सदर गरेका थिए । संसद विघटन भएको मितिदेखि ९० दिनभित्र पाकिस्तानमा आम निर्वाचन गराउनुपर्ने छ ।

देश आर्थिक संकटमा परेको, पूर्वप्रधानमन्त्री इमरान खानलाई जेल सजाय भएको लगायतका थुप्रै उथलपुथलका बीच कार्यवाहक प्रधानमन्त्री अनवरलाई आम निर्वाचन शान्तिपूर्ण रुपमा गराउनुपर्ने जिम्मेवारी आइलागेको छ ।

अनवर उल हक काकर पाकिस्तानका चर्चित नेताहरुमध्येमा पर्दैनन् । अनवर सन् २०१८ मा बलुचिस्तानबाट स्वतन्त्र सांसदको रुपमा निर्वाचित भएका थिए । पछि सिनेटमा बलुचिस्तान अवामी पार्टीको संसदीय दलको नेता पनि बनेका थिए ।

मिडिया रिपोर्ट अनुसार अनवरको सम्बन्ध पाकिस्तानी सेनासँग निकै राम्रो छ । त्यसैले उनलाई निर्वाचन गराउने मुख्य जिम्मेवारीसहित कार्यवाहक प्रधानमन्त्री चयन गरिएको चर्चा छ ।

यसैबीच इमरान खानको पार्टी पाकिस्तान तहरीक ए इन्साफले कठपुतली सरकार र विपक्षी दलको फर्जी नेताको सल्लाहमा कार्यवाहक प्रधानमन्त्रीमा अनवरलाई चयन गरिएको टिप्पणी गरेको छ ।

प्रकाशित समय : १०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु