काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बाढीपहिरोमा ४ को मृत्यु, ७ जना बेपत्ता हुँदा ७२ को उद्धार, ५ सय घर डुबानमा

8.82K
shares

भारी बर्षासँगै देशभर वितण्डा मच्चाएको बाढीपहिरोमा परि ४ जनाको मृत्यु भएको छ । सर्लाहीमा दुई, धनुषा र मकवानपुर एकएक जनाको मृत्यु भएको हो ।

मंगलबार बिहान खेतमा काम सकेर फर्किरहेका रौतहट गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद रहिम भाटको सर्लाही–रौतहट सीमा भएर बग्ने वाग्मती नदीको समनपुर घाटमा पुग्दा बगेर मृत्यु भएको छ । यस्तै, सर्लाही–महोत्तरी सीमाको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ बसन्तपुरका ६० वर्षीय भोला चौधरीको मृत्यु भएको हो । सोमबार राति घरपरिवारबाट सम्पर्कविहीन भएका चौधरीको शव मंगलबार खोलामा डुबेको अवस्थामा फेला परेको थियो ।

धनुषाको बसही खोलाको बाढीले मिथिला नगरपालिका–१ आनन्दपुरका १६ वर्षीय अजय यादवको मृत्यु भएको छ । कमला नदीमा बाढीले बगाएर ल्याएको काठ संकलन गर्ने क्रममा कमला ब्यारेज नजिकबाट गणेशमान चारनाथ नगरपालिका–७ का ३५ वर्षीय साजन परियार र उनकी श्रीमती ३० वर्षीया माया परियार बेपत्ता भएका छन् ।

पहिरोले मकवानपुरको वाग्मती गाउँपालिका–५ सिक्रे दोभानमा घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने परिवारका ५ जना बेपत्ता छन् ।

मंगलबार बिहान ४ बजेतिर सिक्रे दोभानका अक्कलबहादुर स्याङ्तानको घर बगाउँदा घाइते भएकी ५५ वर्षीया शान्तिमायाको उपचारका क्रममा मृत्यु भएको हो । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ५० वर्षीय अक्कलबहादुर स्याङ्तान, उनकी छोरी २२ वर्षीया शिला, छोरा २५ वर्षीय जीवन, नाति ४ वर्षीय मिलन र डेढ वर्षीया नातिनी दिव्या बेपत्ता छन् ।

सोही पहिरोमा पुरिएका १९ वर्षीय पासाङ घिसिङको करिब १२ घण्टापछि स्थानीयले जीवितै उद्धार गरेका छन् ।

कैलालीको कैलारी, चुरे र जोशीपुर गाउँपालिका, भजनी र गोदावरी नगरपालिका तथा धनगढी उपमहानगरपालिकाका विभिन्न बस्तीमा बाढी पस्दा झन्डै ५ सय घर डुबानमा परेका छन् । काँडा र कान्द्रा नदीको बाढीले भजनी नगरपालिका–२, ३, ५, ७ र ८ वडामा साढे दुई सय घर डुबानमा परेका छन् । कैलारी–७ का विभिन्न बस्तीमा कटैनी नदीको पानी पस्दा १ सय ५५ परिवार र जोशीपुरका विभिन्न बस्तीमा काडा नदीको बाढीले ५६ घर प्रभावित भएका छन् । यस्तै, धनगढी उपमहानगर–१५ कनरीमा खुटिया नदीको पानी बस्ती पस्दा १४ परिवार प्रभावित भएका छन् भने गोदावरी नगरपालिकामा खैराना खोलाको बाढीले एउटा पसल डुबाएको छ ।

मङ्गलबार साँझसम्म बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ ।