कुवेतमा कम्पनीले ६ महिनादेखि तलब नदिइ भागेपछि ८३ नेपाली कामदार अलपत्र
वि.सं.२०८० साउन १२ शुक्रवार १२:२५
shares

वैदेशिक रोजगारीमा गत नोभेम्वरमा कुवेत पुगेका नेपाली कामदार लामो समयदेखि अलपत्र परेर बसेको पाइएको छ ।
काठमाडौँ बसुन्धारास्थित टिजीएल नेपाल म्यानपावर प्रालिले वैदेशिक रोजगारीमा कुवेत पठाएका ८३ जना नेपाली कामदार अलपत्र परेर बसेका छन् ।
हाल तीनदेखि ६ महिनासम्मको तलब समेत नदिइ सप्लाई कम्पनी भागेपछि उक्त कम्पनीमा कार्यरत विदेशी कामदार अलपत्र अवस्थामा बसेको कुवेती सञ्चारमाध्यमहरु समेत जनाएका छन् ।
जेनेरत ट्रेडिङ कम्पनीमा ३ सय विदेशी कामदार कार्यरत रहेकामध्ये ८३ जना नेपाली थिए । अहिले नेपाली कामदार पनि अलपत्र अवस्थामा कम्पनीमै बसेका छन् । जेनेरत ट्रेडिङ कम्पनीले ६ महिनादेखि तलब नदिएपछि कामदारहरु हडतालमा उत्रिएका थिए ।
तलब नदिएपछि नेपाली श्रमिकहरुले बिरोध गरे । तर समस्या समाधानको सट्टा काठमाडौँस्थित म्यानपावर कम्पनीले उक्त विरोध गर्नेहरुको नाइके भन्दै झापाका निशान विष्टलाई कम्पनीमार्फत टर्मिनेट गरेर नेपाल फिर्ता ल्यायो ।
विष्टलाई टर्मिनेटमा पर्ने डरले ८३ जना कामदार विरोधमा उत्रिन नसकेको पीडितहरुले सामाजिक सञ्जालमा जानकारी दिएका छन् ।
म्यानपावरले सप्लाई कम्पनीको रोजगारीमा पठाएपछि रोजगारदाताले सुरुवातदेखिनै तलब नदिएको पीडितको गुनासो छ । कम्पनीले ८३ जना कामदारलाई अकामा समेत नदिएपछि समस्या झन बढेको उनीहरु बताउँछन् ।
जेनेरत ट्रेडिङ रोजगारदाता कम्पनीले तीन महिनाको तलब नदिई सम्पर्कबिहीन भएको र म्यानपावरसँग सम्र्पक गर्दा वेवास्ता गदै आएको पीडितले बताएका छन् ।
सम्बन्धित म्यानपावरलाई समस्या समाधानको लागि ध्यानाकर्षण गराएपछि सम्बन्धित म्यानपावरले फिर्ता आउन चाहेका केही कामदारलाई कुवेतबाट नेपाल फिर्ता गरेको थियो । बाँकी युवाहरुले त्यसयता रोजगारी गरेपनि तलब पाएपनि केही–केही समस्या भोग्नुपरेको गुनासो कामदारको छ ।
यस्तै, रोजगारीमा पुगेका नेपालीहरु पीडित बनेको विषयमा पटक–पटक ध्यानाकर्षण गराइएको टिजीएल नेपाल प्रालिका सञ्चालक अमृत रिजालले आफूले पीडित युवाहरुलाई फिर्ता ल्याउने कोसिस गरिरहेको जानकारी दिए ।
म्यानपावरका सञ्चालक रिजालले रोजगारदाता कम्पनीले जालझेल गरेर नेपाली कामदारलाई पीडित बनाएको स्वीकार्नुभयो । उनका अनुसार रोजगारदाताको डिमाण्ड इन्डियन एजेन्सीमार्फत लिएका कारण समस्या सिर्जना भएको हो ।
अलपत्र र समस्यामा परेका कामदारका विषयमा आफु गम्भीर भएको र चाँडै समस्या समाधान गर्ने उनको भनाइ छ ।
पीडितहरुमध्ये केही पोखराको राज ओभरसिर्जको साखा कार्यालयबाट, केहि बिर्तामोडका म्यानपावर साखा कार्यालय र केही बसुन्धारास्थित टिजीएलबाटै वैदेशिक रोजगारमा गएको पाइएको छ ।
जाने क्रममा युवाहरुसँग एजेन्ट र म्यानपापारले डेढ देखि २ लाख ५० हजारसम्म लागत खर्च लिएको पाइएको छ । तर, म्यानपावरले भने यो विषयका केही बोल्न चाहेन ।
दुई सातादेखि कम्पनी बन्द भएपछि नेपाली कामदार कोठामै सुत्न बाध्य छन् । पीडितहरुलाई कम्पनीले अकामा नदिएकाहरुले नेपाल फर्किन जरिवाना तिर्नुपर्ने अवस्था छ । अकामाको २५० देखि ३५० कुवेती दिनर तिर्नुपर्ने कानुनी व्यवस्था छ ।
कतिपय नेपाली जरिवाना तिरेर जानपर्ने अवस्था रहेको बताउँछन् । आफ्नो समस्यामा सम्बन्धित पक्षले खासै ध्यान नदिएपछि पीडितहरुले कुवेतमा कार्यरत रहेका नेपालीसँग उद्धारका लागि आग्रह गरेका छन् ।
यस्तै, पीडितहरुकाअनुसार रोजगारदाताले पासपोर्ट समेत लिएको भागेको छ । कम्पनी नै भागेपछि खाना समेत राम्ररी नपाएको पीडितहरुको गुनासो छ । उनीहरुकाअनुसार बस्न सकिन्छ तर पानी, बत्ति र एसी केही नभएका कारण कोठामा सुत्न सक्ने अवस्था छैन ।
अधिकांश कामदारको राहदानीनै लिएर कम्पनी भागेपछि ट्राभल डकुमेन्ट बनाई नेपाल आउनुपर्ने बाध्यता भएको पीडितहरुले जानकारी दिए । यो विषयमा कुवेतस्थित नेपाली दूतावासलाई खबर गरेपनि दुतावासले चासो नदेखाएको उनीहरुको आरोप छ ।
पछिल्लो सप्लाई कम्पनीको रोजगारीमा पुगेका नेपाली कामदार कुवेतमा अलपत्र पर्ने क्रम बढेको छ । यसरी अलपत्र परेका कामदारको जिम्मेवारी रोजगारदाता कम्पनी, दूतावास र म्यानपावर समयमा नलिदाँ समस्या झन जटिल बन्दै गएको स्यंम कामदारले नै आरोप लगाउँदै आएका छन् ।

























