सुन काण्ड : ६ जना पक्राउ, कर्मचारी निलम्बनको तयारी, सुन जोख्न राष्ट्र बैंक लगिँदै
वि.सं.२०८० साउन ४ बिहीवार १०:४५
shares
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भन्सारबाट चेकजाँच पास भएर बाहिरिएको एक क्विन्टल बराबरीको सुन सिनामंगलमा बरामद गरियो । राजश्व अनुसन्धान विभागले चलाएको अपरेशनका आधारमा भन्सारबाट पास भएर बाहिरिएको सुन बरामद भएको हो । जसमा अहिले ६ जना पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा एक भारतीय नागरिकसहित ६ जना छन् ।
विभागका अनुसार सुनले भरिएको स्कुटरको ब्रेक शु आयातकर्ता कम्पनी रेडी ट्रेडर्सका सञ्चालक दिलिप भुजेल, सुन पास गराउन सहयोग गर्ने उनका मामा राम कुमार भुजेल र कम्पनी स्थापना गर्न सघाएका हर्कराज राईलाई विभागले नियन्त्रणमा लिएको हो ।
यस्तै, थुप्तेन छिरिङ नाम गरेका तिब्बती मूलका भारतीय नागरिक पनि पक्राउ परेका छन् । अन्य दुई जना भने भन्सार एजेन्ट र ट्याक्सी चालक छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले गरेको कारबाहीको क्रममा ठूलो परिमाणमा सुन बरामद भएको थियो ।
सुन आजै राष्ट्र बैंक लगरे जोख्ने तयारी छ । तर विमानस्थल भन्सारबाट कसरी पास भयो शंका उब्जिएको छ ।
झण्डै एक अर्बभन्दा बढीको सुन सहजै भन्सार पास भएपछि जाँच पासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारी भन्सार विमागले गरेको छ । प्रारम्भिक चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए ।

























