global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सात वर्षपछि टुङ्गियो काठेखोला गाउँपालिकाको केन्द्र विवाद

सात वर्षपछि टुङ्गियो काठेखोला गाउँपालिकाको केन्द्र विवाद

सात वर्षपछि टुङ्गियो काठेखोला गाउँपालिकाको केन्द्र विवाद
बागलुङको काठेखोला गाउँपालिकाको प्रशासनिक केन्द्रको विवाद सात वर्षपछि टुङ्गिएको छ । सो विवादका कारण अहिलेसम्म कार्यालय भवन निर्माण हुन सकेको थिएन ।
छ वर्षदेखि प्रशासनिक भवन निर्माणका विषयमा कार्यपालिका बैठकमा धेरै पटक छलफल भए पनि त्यसले सार्थकता पाएको थिएन । यस पटक भने कार्यपालिकाको बैठकले वडा नं ६ को सामबोट सामुदायिक वनको जग्गामा भवन निर्माण गर्ने निर्णय गरेको छ । वडा नं १, २, ३ र ४ ले अक्षते तथा वडा नं ५, ६, ७ र ८ ले हाल कार्यालय सञ्चालन हुँदै आएको सुलडाँडामै प्रशासनिक भवन बनाउने अडान राख्दै आएका थिए ।
गाउँपालिकाले अहिले पालिकास्तरीय अस्पताल, प्रहरी चौकी अक्षते र बहुउद्देश्य सभाहल तथा आयुर्वेदिक अस्पताल सुलडाँडामा बनाउने सहमति भएपछि सामबोटमा प्रशासनिक भवन निर्माण गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले बताए ।
सामबोटमा भवन बनाउनका लागि कार्यपालिका बैठकले निर्णय गरी १३औँ गाउँसभाबाट पारितसमेत गरेको छ । भवन निर्माणका लागि आगामी आर्थिक वर्ष २०८०/८१ मा रु एक करोड रकम विनियोजन गरिएको प्रवक्ता विकले बताए ।
उनलृ भने, “करिब छ वर्ष अगाडि हामीहरुले बिहुँकोट सुलडाँडामा घर भाडामा लिएर प्रशासनिक कामकाज सुरु गरेका थियौँ, अहिले पनि सोही घरबाटै काम भइरहेको छ, कार्यालय सञ्चालन भएको घरमा पनि पर्याप्त कोठा छैनन्, त्यसले गर्दा विभिन्न शाखा गाउँपालिकाले भीमसेन प्राविको भवनबाट सञ्चालन गरेको छ ।”
जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको यो गाउँपालिका अन्य पालिकाभन्दा सुगममा पर्छ । दुर्गमका पालिकाहरुले आफ्नै भवन निर्माण गरेर काम सुरु गरिसक्दा काठेखोलाले अहिले बल्ल केन्द्रको टुङ्गो लगाएको छ ।
केही महिनाअगाडि गाउँपालिकाले जग्गा व्यवस्थापनका लागि सूचान आह्वान गरेको सात स्थानमा जग्गा उपलब्ध गराउने आवेदन गरेकामा दुई स्थानमा निःशुल्क, दुई स्थानमा सशुल्क र तीन स्थानमा सार्वजनिक जग्गा उपलब्ध गराउने निवेदन परेको थियो ।

प्रकाशित समय : १२:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु