गृहपृष्ठ लम्पी–स्किनबाट २६ हजार पशुचौपया मरे, २० करोडभन्दा बढी क्षति
लम्पी–स्किनबाट २६ हजार पशुचौपया मरे, २० करोडभन्दा बढी क्षति
पशुचौपयामा लाग्ने लम्पी–स्किन रोगको संक्रमण देशका ७६ जिल्लामा फैलिएको छ ।
लम्पी–स्किन रोगबाट चैतदेखि यस रोगका कारण २६ हजार ४ सय ८ पशुको मृत्यु भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत पशु सेवा विभागले जनाएको छ ।
लम्पी–स्किन रोगका कारण २० करोडभन्दा धेरै आर्थिक क्षति भएको विभागले जानकारी दियो । विभागका अनुसार हालसम्म संक्रमित ६ लाख ८२ हजार ८० पशुवस्तुमध्ये ४ लाख ९ हजार १७५ निको भइसकेका छन् ।
नेपालमा २०७९ चैतमा देखिएको यस रोगको संक्रमणका कारण कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका मध्य पहाडी तथा पहाडी क्षेत्रमा रहेका पशुहरू प्रभावित भएका छन् ।
सरकारले हालसम्म ७ लाख ३७ हजार डोज खोप आयात गरी सातवटै प्रदेशका विभिन्न जिल्लाहरूमा १ लाख ७२ हजार १ सय २८ पशुहरूमा खोप लगउने कार्य सम्पन्न भएको जनाएको छ । हाल २ लाख ४७ हजार ४ सय ९७ पशु सक्रिय संक्रमित छन् र संक्रमणको दर क्रमशः घट्दै गएको छ ।
सरकारले १ सय ६१ स्थानीय तहमा भेटेरिनरी डाक्टर र सबै स्थानीय तहमा प्राविधिकहरूको व्यवस्थापनका लागि बजेट व्यवस्था गरेको जनाएको छ । विभागका अनुसार नेपालमा यो रोग पहिलो पटक २०७७ साल असार महिनामा मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाका गाईहरूमा देखा परेको थियो ।
रोग देखिएका सुरुका दुई वर्षमा १६ जिल्लाका २९ पालिकामा रोग फैलिँदा ३ हजार ३ सय १ पशु सङ्क्रमित भई १३ वटा पशु मरेका थिए । त्यसपछि २०७९ सालको चैत महिनादेखि कोशी प्रदेशबाट रोगको प्रकोप सुरु भई हालसम्म ७६ जिल्लामा रोग पुष्टि भएको विभागले जनाएको छ ।
लम्पी स्किन रोगको महामारी नियन्त्रणका लागि पशु सेवा विभाग र मातहतका निकाय, प्रदेश सरकार मातहतका निकाय तथा स्थानीयतहमा कार्यरत पशु स्वास्थ्यकर्मीहरू परिचालित गरिएको पशु सेवा विभागका उप–महानिर्देशक डा. वरुण कुमार शर्माले जानकारी दिए ।
सरकारले अन्य सरकारी निकाय, निजी क्षेत्रमा कार्यरत पशु स्वास्थ्यकर्मीलगायतका सरोकारवालासँग समन्वय गरी रोग रोकथाम तथा नियन्त्रणका उपायहरू अवलम्बन गरिएको उनको भनाइ छ ।
विभागका अनुसार पशु सेवा विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापनासहित प्रभावित क्षेत्रमा रोग अन्वेषण, उपचार र प्राविधिक सल्लाहका लागि टोलि परिचालन गरिएको छ । प्रभावित पशुको उपचारका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट औषधिको व्यवस्थासहित प्राविधिक परिचालन गरिएको छ ।
लम्पी स्किन रोगले मुख्यतया बाच्छाबाच्छी, जोले गोरु, उन्नत जातका बढी दूध दिने दुधालु र गर्भिणी गाईभैँसीलाई असर गर्छ ।
भने, लम्पी स्किन गाईभैंसीमा भाइरसको कारण लाग्ने महामारी रोग हो । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा र गाँठाहरू देखिने, ¥याल, सिँगान बग्ने, चिप्रा र कचेरा लाग्ने, खुट्टा र जोर्नी सुन्निने जस्ता लक्षणहरू देखिन्छन् ।
आगामी आ.व. २०८०–८१ का लागि प्रत्येक स्थानीय तहमा महामारी नियन्त्रण गर्न संघीय शसर्त अनुदानअन्तर्गत १ लाख रुपैयाँका दरले रकम विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । जसका लागि सरकारले प्रदेश तथा स्थानीय तहसँग समन्वयका लागि प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोकेको छ ।
प्रकाशित समय : १८:४५ बजे


















