कोशीका ज्याद्रा मुख्यमन्त्री : राजीनामा नदिने–विश्वासको मत माग्ने
वि.सं.२०८० असार १४ बिहीवार ०६:५१
shares

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मत माग्ने भएका छन् । बुधबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि विपक्षी दलहरुसँग पनि विश्वासको मत माग्ने निर्णय गरेको हो ।
१७ जेठमा जसपा र २३ जेठमा माओवादी केन्द्रले सरकार छाडेपछि एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले बिहीबारका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन् । उक्त बैठकमा विश्वासको मत माग्ने निर्णय भएको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।
नेकपा एमाले संसदीय दलको बैठकले आफ्ना सांसदलाई बिहीबार दिउँसो १ बजे भन्दा अगाडि नै प्रदेशसभा भवन अगाडि उपस्थित हुन निर्देशन पनि जारी गरेको छ ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सत्ता साझेदार नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीको पक्षमा ४६ मत छ । बिहीबार उनलाई बहुमत जुटाउन सकस छ । प्रतिपक्षी गठबन्धनको बैठकले मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव फेल गराउने निर्णय गरिसकेको छ ।
कोशी प्रदेशमा ४० सिट रहेको एमाले र ६ सिटको राप्रपा हाल सरकारमा छन् । हाल मुख्यमन्त्री कार्कीलाई एकमत पुगेको छैन ।

























