बजेटमा पहिलोपटक मत विभाजन
वि.सं.२०८० असार १४ बिहीवार ०६:२३
shares
प्रतिनिधिसभा बैठकमा पहिलो पटक मत विभाजन प्रक्रियाबाट बजेट पारित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माग अनुसार आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयक (बजेट) पारित गर्नका लागि मतविभाजन गरिएको हो ।
बजेटका विषयमा २०४७ मा बहुदलीय व्यवस्था पुनर्स्थापनापछि यसरी मत विभाजन गरिएको पहिलो अभ्यास हो ।
यसअघिका वर्षहरूमा ध्वनीमतका आधारमा बजेट पारित हुने गरेका थिए । बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले ध्वनीमतले बजेट पारित गर्न खोज्दा एमालेका सचेतक महेश बर्तौलाले मत विभाजनको माग गरेका थिए ।
उनीको माग लगत्तै सभामुख घिमिरेले मत विभाजनको प्रक्रिया सुरु गराएका थिए । त्यसअघि नै सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहितका दलहरुले बजेट हुबहु पारित गर्न ह्विप जारी गरेका थिए ।
बुधबार प्रतिनिधिसभामा २५५ जना उपस्थित रहेकोमा बजेटको पक्षमा १ सय ४७ र विपक्षमा १ सय ८ मत पर्यो । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदले पक्षमा मतदान गरेका थिए । त्यसैगरी विपक्षमा एमाले, रास्वपा, राप्रपा, नेमकिपासहितका विपक्षमा मतदान गरेका थिए ।
प्रतिनिधिसभामा पहिलो पटक मत विभाजनमार्फत बजेट अनुमोदन गरेको हो । बजेट अनुमोदनपछि प्रतिनिधिसभाबाट बाहिरिएका प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि संसदको विश्वास घटेको बताएका छन् । प्रतिनिधिसभाले पहिलो पटक मत विभाजनमार्फत बजेट अनुमोदन गरेपछि प्रक्रिया व्यक्त गर्दै प्रमुख प्रतिपक्षी दल नेता ओलीले ९९ प्रतिशत समर्थन रहेको सरकारले समर्थन घटेर ५३ प्रतिशत बनेको बताए ।

























