गृहपृष्ठ डिम्याट खाता खोल्नेको संख्या ५७ लाख नाघ्यो, के हो डिम्याट ?
डिम्याट खाता खोल्नेको संख्या ५७ लाख नाघ्यो, के हो डिम्याट ?
हाल नेपालमा डिम्याट खाता खोल्नेहरु ह्वात्तै बढेका छन् । सीडीएस एण्ड क्लियरिङका अनुसार यस्तो खाता खोल्नेको संख्या ५७ लाख नाघेको छ । अहिले सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि पनि शेयर भर्ने व्यवस्था गरेसँगै डिम्याट खाता खोल्नेहरु पनि बढ्दै गएका हुन् । सिडीएस एण्ड क्लियरिङको तथ्यांक अनुसार जेठ ३० गते मंगलबारसम्म डिम्याट खाताको संख्या ५७ लाख १ हजार ८ सय ४२ पुगेको छ । मेरो शेयर खाता भने ४७ लाख ७६ हजार ८ सय ४२ रहेको छ ।
पछिल्लो ४ महिनाको अवधिमा करिब पौने २ लाख डिम्याट खाता थपिएका हुन् ।
यद्यपि कतिपयले दुई खाता खोलेका हुन्छन् । यस्तो खाता दुईभन्दा बढी खोल्न भने पाइने छैन । दुईभन्दा बढी खाता खोलेमा रद्द हुने प्रावधान छ ।
के हो डिम्याट खाता ?
शेयर प्रमाणपत्र तथा अन्य धितोपत्रलाई कुनै बैंकमा खाता खोलेर जम्मा गर्नुलाई शेयर अभौतिकिकरण अथवा डिम्याट गर्नु भनिन्छ । यस्तो खातालाई हितग्राही खाता पनि भनिन्छ ।
आफूसँग भएको भौतिक शेयर प्रमाणपत्रलाई डिम्याट गराएपछि आफूसँग शेयर प्रमाणपत्रको कागज चाहिँदैन, त्यो बैंकमा रहेको डिम्याट खातामा हुन्छ ।
यसो भएपछि शेयर खरीदविक्री गर्न सहज हुन्छ । खरिदबिक्रीको साफसाफ छिटो हुन्छ र प्राप्त हुने बोनस शेयर तथा हकप्रद शेयर आफ्नो हितग्राही खातामा सिधैं जम्मा हुन्छ । त्यसैले, त्यस्तो शेयरको प्रमाणपत्र लिन कम्पनीमा धाइरहनु पर्दैन ।
कसरी खोल्ने डिम्याट खाता ?
डिम्याट खाता खोल्न सबैभन्दा पहिले लगानीकर्ताको एउटा फोटो र नागरिकताको प्रतिलिपि लिएर डिम्याट खाता खोल्ने कुनै (डीपी)मा जानुपर्छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीडीएस एण्ड क्लियरिङ कम्पनीको सदस्यता लिएका बैंक, वित्तीय संस्था, मर्चेण्ट बैंकर वा ब्रोकर कम्पनीले निश्चित मापदण्ड पूरा गरी निक्षेप सदस्य (डीपी)को काम गर्ने गर्छन् ।
प्रकाशित समय : ०९:०० बजे



















