गृहपृष्ठ ग्रीन टी खानुका फाइदा
ग्रीन टी खानुका फाइदा
भूमिका बिष्ट/न्युजकाराेबार
ग्रीन टी संसारको उत्कृष्ट स्वस्थ पेयपदार्थ मानिन्छ । ग्रीन टी प्राकृतिक जडिबुटी औषधि पनि होे । ग्रीन टी पिउने चलन सर्वप्रथम चिनबाट शुरूवात भएको थियो । ग्रीन टीमा पोलिफेनोल्स नामक एन्टीअक्सिडेन्ट, एमाईनोएसिड, थियनाइन, लिलोनलिक एसिड र कैफिन पाउनुका साथै क्याल्सियम, म्याग्नेसियम, आइरण, कपर र जिंक आदी पनि पाउने भएकाले यसलाई स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक मानिएको हो ।
ग्रिन टीलाई सबैभन्दा स्वस्थ पेयपदार्थमध्ये एक मानिएकै कारण धेरै मानिसले यसको प्रयोग गर्छन् । यसबाट धेरै खाले स्वास्थ्य लाभहरू पाउन सकिने पोषणविद् मिरा शाह बताउँछिन् ।
‘ग्रिन टीमा एक प्रकारको पोलिफेनोल हुन्छ जसलाई क्याटेचिन भनिन्छ ।’ पोषणविद् शाहले भनिन्, ‘क्याटेचिनहरू एन्टिअक्सिडेन्टहरू हुन् । जसले कोशिकाको क्षतिलाई रोक्छन र अन्य स्वास्थ्य लाभहरू प्रदान गर्न मद्दत गर्छन् ।’
टाउको दुख्ने, माइग्रेन, थकान र निद्राको विकार रहेको गुनासो धेरैले गर्छन् । यो तनाव कम गर्न हरियो चिया उपयोगी छ । केमोमाइल, भ्यालेरियन रूट र ल्याभेन्डर जस्ता सुपरफुडहरू मिसाएर एक कप ग्रीन टी पिउनु उपयुक्त हुन्छ । यसले मानसिक चिन्ता र तनाव कम गर्न मद्दत गर्नसक्ने उनको भनाइ छ ।
ग्रिन टीले छाला सम्बन्धी समस्या कम गर्न मद्दत गर्छ । यसले शरीरमा कोलाजेन सश्लेषणको मात्रा बढ्छ । यसले छालालाई प्राकृतिक चमक दिने, कालो दाग र छालाको टोनसँग सम्बन्धित समस्याहरू कम गर्न मद्दत गर्छ । साथै छाला पनि स्वस्थ देखिन्छ ।
‘गर्भवती र सुत्केरी महिला, २ वर्षभन्दा कम उमेरका बच्चाहरू, मृगौला रोग, मुटु रोग र पेटको अल्सरको समस्या भएका मानिसहरु र मनोवैज्ञानिक समस्या भएका व्यक्तिहरूले भने ग्रीन टी पिउनु हुँदैन ।’ पोषणविद् शाह भन्छिन्, ‘साथै ग्लोकोमा, कलेजोको रोग, ओस्टियोपोरोसिस, एनीमिया र मधुमेहबाट पीडित व्यक्तिहरूले पनि ग्रिन टी पिउनु हुँदैन ।’
पेट खाली भएको बेलामा ग्रीन टी झन पिउनै हुँदैन । एक कप ग्रीन टीमा करिब २५ ग्राम क्याफिन हुन्छ । यदि तपाईंले दिनमा चार–पाँच कप ग्रीन टी पिउनुभयो भने तपाईंको शरीरमा क्याफिनको मात्रा बढ्छ । क्याफिनको मात्रा बढेपछि रिंगटा लाग्न थाल्छ । मधुमेह, कब्जियत, अनिन्द्रा जस्ता समस्यासमेत देखिन सक्छन् । यसका साथै खाली पेटमा ग्रीन टी सेवन गर्नाले एसिडिटीको समस्या समेत देखिन थाल्छ ।
ग्रीन टी बिहान, दिउँसो वा साँझमा पिउन सकिन्छ । बिहान मनतातो पानी पिइसकेपछि मात्र ग्रीन टी पिउनुपर्छ । खाना खानुभन्दा एक घण्टाअघि वा पछि पिउन लाभदायक हुने पोषणविद् शाह बताउँछिन् ।
प्रकाशित समय : ०८:५० बजे



















