गृहपृष्ठ नेपथ्यको प्रस्तुतिमा झुम्यो क्यानबेरा
नेपथ्यको प्रस्तुतिमा झुम्यो क्यानबेरा
अस्ट्रेलियाका सबैजसो ब्यस्त शहरहरूमा धेरैपटक प्रस्तुत भइसकेको नेपथ्य तुलनात्मक रुपले शान्त केन्द्रीय राजधानी क्यानबेराको मञ्चमा भने यसपाला पहिलोपटक उभिएको थियो । थोरै मात्र नेपालीको बसोबास रहेको यस शहरमा पनि नेपाली लोक रक धुन बोकेर पुगेको ब्याण्डले शुक्रबार भब्य स्वागत पायो ।
यहाँस्थित ‘म्येनिंग क्लार्क हल, काम्ब्री’मा तोकिएको दर्शक संख्या अनुसार जारी सम्पूर्ण टिकट शोभन्दा अघिल्लो दिन अर्थात् बिहीबारै विक्री भएर सिद्धिएको थियो । शुक्रबार कन्सर्ट सुरु हुनुभन्दा निकै अघि नै ‘अस्ट्रेलियन युनिभर्सिटी’ परिसरभित्र रहेको हलमा नेपाली र केही मात्रामा अस्ट्रेलियन दर्शकहरूको घुइँचो लागिसकेको थियो ।
स्थानीय समयअनुसार बेलुकीको ठिक ८ः३० बजे कन्सर्ट सुरु हुँदा ब्याण्डले पहिलो गीत उसलाई स्थापना गराउने पहिलो सिर्जना अर्थात् ‘आँगनैभरि हिउँनै झरे’बाट सुरु गरेको थियो । त्यसपछि लगत्तै दोस्रो एल्बमको सर्वकालिक हिट गीत ‘छेक्यो छेक्यो’ सुनायो ।
कार्यक्रममा दर्शकहरूको भिडभित्रै लिण्डा ट्रिग पनि थिइन् । नेपालमा कुनै समय अस्ट्रेलियन कूटनीतिज्ञको भूमिका निर्वाह गरेकी र हाल अवकाशप्राप्त उनी साथमा छोरालाई लिएर कन्सर्ट हेर्न आइपुगेकी थिइन् । ‘गजब लाग्यो,’ कार्यक्रम हेरिसकेपछि प्रतिक्रिया दिँदै उनी भनिरहेकी थिइन्, ‘ब्यावसायिकताले निखारिएको त छँदैछ, नेपथ्यको प्रस्तुती असाध्यै ऊर्जाशील पनि लाग्यो ।’
ब्याण्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ त्यो ऊर्जाकै मुख्य स्रोत भएता पनि सिँगो ब्याण्ड आफैँमा विश्वस्तरीय रहेको लिण्डाको मूल्यांकन थियो । ‘सिंगो दर्शक रमाए,’ लिण्डाले थपिन्, ‘हामी आमाछोरा पनि खुब रमायौं ।’
कार्यक्रमलाई त्यसपछि ‘भेँडाको ऊनजस्तो’, ‘लामपाते सुरती’, ‘चरि मर्यो’ र ‘जोमसोमे बजार’ जस्ता गीतहरूले निरन्तरता दिएको थियो । ‘शिरफूल शिरैमा’ गाइरहँदा अमृतले नेपालका डाँडाकाँडामा अद्भूत मिठास रहेको उल्लेख गर्दै स्वदेश गएका बेला पदयात्रा गर्न दर्शकहरूलाई हौस्याएका थिए ।

हलभित्रै रमाइरहेका दर्शकमा मानस्वी र नेहा पनि थिए । ‘कार्यक्रम असाध्यै बाँध्ने किसिमको थियो र सिंगो अवधिभर हामी त्यसको बन्धनमा कस्सिएर रमाएका थियौं,’ उनीहरू भनिरहेका थिए, ‘अर्कोतिर कस्तो नेपालै पुगेको जस्तो पनि महशुस भइरह्यो ।’ आफूहरू अस्ट्रेलियामा नियमित रुपले कन्सर्टहरूमा गइरहने भएता पनि नेपथ्यसँग शुक्रबारको क्षणजस्तो आत्मीयता अन्यत्र कतै महशुस नगरेको पनि उनीहरूले बताए ।
सिन्धुलीमाडीबाट अस्ट्रेलिया आइपुगेकी नेहाले ११ वर्षअघि नेपथ्यले उनकै शहरमा आयोजना गरेको कन्सर्ट पनि हेरेकी रहिछन् । त्योबेला पाँच कक्षामा पढ्ने उनी काकाहरूको साथमा गएकी थिइन् । ‘त्योबेलादेखि मैले सकेसम्म नेपथ्यको कन्सर्ट छुटाउँदिन भनेर मनमनै सोचेको थिएँ,’ उनी भनिरहेकी थिइन्, ‘आज फेरि नेपथ्य अनुभव गरिरहँदा वाल्यकालका दिनहरू पनि खुबै याद आए ।’
मानस्वी भने सिड्नीदेखि यो कन्सर्ट हेर्नकै लागि क्यानबेरा आइपुगेकी रहिछन् । सानै हुँदा नेपथ्यले ‘भेँडाको ऊनजस्तो’ गीत रिलिज गरेको र लगत्तै आफ्नो शहर धुलाबारीमा कन्सर्ट गरेको सम्झना मानस्वीसँग थियो । ‘उहिलेदेखि मनपरेको त्यो गीत यहाँ आएर यति रमाइलोसँग सुन्न पाइयो,’ उनी भनिरहेकी थिइन्, ‘म केहि दिनपछि हुने सिड्नीको कन्सर्ट पनि हेर्न आइपुग्छु ।’
‘नैनाताल’ सुनाएपछि नेपथ्यले जसै ‘यो जिन्दगानी’ गाउन थाल्यो पर्दामा मानवसेवा आश्रमले उद्धार गरेका सडक आश्रितहरूको हृदयविदारक दृश्य बग्न सुरु भएको थियो । यसरी विरक्त लाग्दो हिसाबले कसैले बाँच्नु नपरोस् भनेरै यो सिंगो वर्ष ब्याण्डले ‘मानवताका लागि संगीत’ अभियान अघि बढाएको उल्लेख गर्दै गायक अमृतले त्यसै अभियानलाई लिएर गएको महिना नेपालभरको भब्य यात्रा सम्पन्न भएको पनि उल्लेख गरे ।
त्यसपछि दर्शकहरूमा तीव्र तरंग पैदागर्ने हिसाबले ‘मै नाचे छमछमी’, ‘रेशम’ हुँदै ‘तालको पानी’ सुनाइएको थियो । अन्तिममा भने ‘रातो र चन्द्रसूर्जे’ सुनाएर कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम अवधिमा अमृतले उपस्थित नेपाली दर्शकहरूको साथ पाइरहँदा एकमनले खुसी र अर्को मनले दुःखी पनि महशुस भइरहेको उल्लेख गरे । ‘तपाइहरू यहाँ आएर उज्वल भविष्यका लागि संघर्ष गरिरहनुभएको देख्दा असाध्यै खुसी छु,’ उनी भनिरहेका थिए, ‘तर, यत्तिका ऊर्जावान् तन्नेरीहरूलाई आफ्नै मुलुकले बाँधेर राख्न नसकेको देख्दा कता कता नरमाइलो पनि भइरहेको छ ।’
नेपालका युवा पुस्तालाई स्वदेशमै अवसर सिर्जना गर्न उनले मञ्चबाटै नेताहरूलाई आव्हान पनि गरे । त्यसो नगरिएमा आउने समयले उनीहरूलाई माफ नगर्ने चेतावनी पनि दिए । मञ्चमा अमृतलाई सधैँजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए । कलाकारको यो टिमबाहेक ब्यवस्थापक र प्राविधिकहरूको १३ सदस्यीय टोली यात्रामा सरिक छ ।
यसपटकको श्रृंखलावद्ध यात्रामध्ये क्यानबेरामा चौथो प्रस्तुती सम्पन्न भएपछि ब्याण्ड अब ‘वेस्टर्न अस्ट्रेलिया’ राज्यको राजधानी पर्थ शहर पुगेको छ । फेब्रुअरी ५ तारिख आइतबारका दिन त्यहाँस्थित ‘मेट्रो सिटी हल’मा अबको पाँचौ प्रस्तुती रहनेछ ।
त्यसपछि फेब्रुअरी १० तारिख सिड्नीको ‘होडर्न पभिलियन’, फेब्रुअरी १३ तारिख मेलबर्नको ‘फोरम’ र अन्त्यमा अस्ट्रेलियाकै पुछारमा रहेको बेग्लै टापु तास्मानियाको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’मा फेब्रुअरी १७ तारिख शुक्रबारको दिन प्रस्तुत भएपछि नेपथ्य स्वदेश फिर्नेछ ।
प्रकाशित समय : २०:०८ बजे



















