गृहपृष्ठ चितवन र हेटौडामा पनि नाडाको विरोध प्रदर्शन
चितवन र हेटौडामा पनि नाडाको विरोध प्रदर्शन
नाडाको संस्थागत सदस्य बागमती प्रदेशअन्तर्गत रहेका चितवन अटोमोबाइल्स एशोसिएशन र हेटौंडा अटोमोबाइल्स एशोसिएशनले चितवन र हेटौडामा पनि घेरा हालेर व्यवसायीहरुले शान्तिपूर्ण विरोध कार्यक्रम गरेका छन् ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले घोषणा गरेको देशव्यापी आन्दोलनअन्तर्गत ती एशोसिएशनहरुले विरोध प्रदर्शन गरेको हो । व्यवसायीहरुले सरकार विरुद्धका नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेर नारायणगढको लायन्स चौक र हेटौडाको बुद्धचोकमा प्रदर्शन गरेका थिए । सरकारको पछिल्लो नीतिले अटोमोबाइल्स व्यवसायीहरु नै धरासायी हुन पुगेको उनीहरुको आरोप छ ।
सो धर्ना कार्यक्रममा व्यवसायीहरुले चालू पुँजी कर्जा मार्गदर्शन खारेज, मौद्रिक नीति परिमार्जन, ब्याजदर नियन्त्रण, कोभिड तथा आयात प्रतिवन्धका कारण लामो समयदेखि थला परेको अटोमोबाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुनर्तालिकीकरण गरिनुपर्ने माग राखेका थिए । त्यसैगरी व्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने, अटो लोन फाइनान्सिङ सुविधामा लागेको ५० प्रतिशतको क्याप हटाउनु पर्ने, बैंकको ब्याजदर नियन्त्रण हुनु पर्ने लगायतका उनीहरुको माग छ ।
व्यवसायीहरुको सो छुट्टाछुट्टै रुपमा सम्पन्न धर्ना कार्यक्रममा उद्योग वाणिज्य संघ चितवन र मकवानपुर उद्योग वाणिज्य संघको समेत ऐक्यबद्धता रहेको थियो । उक्त प्रदर्शनी स्थलमा व्यवसायीहरुले व्याजदर नियन्त्रण गर, सत प्रतिशत नगद मार्जिन व्यवस्था खारेज गर, चालु पुँजी कर्जा मार्गदर्शन स्थगन गर, मौद्रिक नीति परिमार्जन गर लगायतका नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए ।
प्रकाशित समय : १८:३५ बजे



















