गृहपृष्ठ निर्वाचन आचारसंहिता अवज्ञा गर्ने दुस्साहस भएमा सैह्य हुँदैनः प्रमुख निर्वाचन आयुक्त थपलिया
निर्वाचन आचारसंहिता अवज्ञा गर्ने दुस्साहस भएमा सैह्य हुँदैनः प्रमुख निर्वाचन आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा गर्ने दुस्साहस भएमा सैह्य नहुने बताएका छन् ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले युवा संघसंस्था र युवा अभियन्तासँग आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र सम्बन्धित पक्षले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहितरुपमा सम्पन्न गराउन सघाउनुपर्ने बताएका हुन् ।
उनले आचारसंहिता उल्लघंन र निर्देशनको अवज्ञा भएमा उल्लंघनकर्तालाई महँगो पर्न सक्ने चेतावनी समेत दिए । थपलियाले केही स्थानीय तहले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसक्ने जानकारी गराएको सन्दर्भमा ती तहलाई कारवाही हुने जनाए । निर्वाचनको सन्दर्भमा आयोगले दिएका निर्देशनहरूको कसैले अवज्ञा गरे त्यो महँगो हुने उनले बताए ।
जुनसुकै निर्वाचनमा जित्ने उम्मेदवारभन्दा हार्नेको संख्या बढि हुने व्याख्या गर्दै उहाँले निर्वाचनपछिको राजनीतिक वातावरण धूमिल हुन नदिन र सौहार्दता कायमका लागि पनि युवाहरुले सकारात्मक भूमिका निर्वाह खेल्न सक्ने उनले जनाए ।
प्रमुख आयुक्त थपलियाले मतदान केन्द्रहरु सकेसम्म अपाङ्गता मैत्री बनाउन आग्रह गरिएको र त्यसतर्फ आयोग सचेत रहेको स्पष्ट पारे ।
‘मतदाताको विवेकको मत प्रयोग गराउन मतदान अधिकृत, राजनीतिक दलका प्रतिनिधि र स्वयंसेवकलाई आयोगले सुम्पिएको विश्वासमा कुठाराघात नहोस् । स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित निर्वाचन गराउने लक्ष्यमा हामी सबैको सहयोग चाहन्छौँ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने ।
प्रकाशित समय : १४:५६ बजे





















